`

कांग्रेसमा विद्रोहको घण्टी, बोलाइँदै विशेष महाधिवेशन

Nepal One HD २३ पुष २०८२ ११:२०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आह्‍वान गरिँदै छ । नेता मनोजमणि आचार्यले दिउँसो २ बजेतिर पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन आह्‍वान गरिने बताए ।

‘११ बजे भनिएको पत्रकार सम्मेलन प्राविधिक कारणले अलिक पर सारेका छौँ, दिउँसो २ बजेतिर आयोजना गर्छौँ’, उनले नेपालवान एचडीसँग भने ।

कांग्रेसका द्वय महामन्त्री गगनकुमार थापा र विश्‍वप्रकाश शर्माले विशेष महाधिवेशनको अगुवाई गरिरहेका छन् । कांग्रेस विभाजन हुने संशयबीच उनीहरू विशेष महाधिवेशन नरोक्नेगरि अगाडि बढेका हुन् । यसअघि नै भृकुटीमण्डप विशेष महाधिवेशन पक्षधरले बुक भइसकेकाे छ ।

कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका छन् । तर, सभापति शेरबहादुर देउवा नियमित महाधिवेशन गर्ने पक्षमा छन् ।

हालै बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरि कार्यतालिका संशोधन गरिसकेको छ । कार्यतालिका संशोधनको निर्णय देउवाले बहुमतले गरेका थिए ।

महामन्त्रीहरू थापा, शर्मालगायत केही नेताले कार्यतालिका संशोधन गरेर वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई सम्मान गरिने भन्दै विशेष महाधिवेशनबाट पछि नहट्ने अडानलाई कायम राखेका छन् । यो पक्षले कानुन व्यवसायीहरूसँग पनि परामर्श गरेको छ ।

कानुन व्यवसायीहरूले विधानमै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन गर्नपर्ने बाध्यकारी व्यवस्था पार्टी विधानमै रहेको र त्यो वैधानिक हुने राय दिएका थिए ।

तर, सभापति देउवा विशेष महाधिवेशन रोक्न भरमग्दुर प्रयास गरिरहेका छन् । उनी पक्षधर नेताहरूले विशेष महाधिवेशन पार्टी विभाजनको रेखा कोर्ने निर्णायक कदम हुने भन्दै त्यसो नगर्न दबाब दिइरहेका छन् ।

नेता डा. शेखर कोइरालाले विशेष महाधिवेश अहिल्यै गर्न नहुने बताउँदै आएका छन् । उनको विचारमा माघमा विशेष महाधिवेशन गर्दा उपयुक्त हुन्छ ।

तर, कोइरालाको यो राय पनि विशेष महाधिवशेनमा अगाडि बढिसकेका महामन्त्रीद्वयले सुनिरहेका छैनन् । उनीहरू आगामी २१ फागुनको निर्वाचनअघि पार्टीको नयाँ नेतृत्व हुनुपर्ने अडानबाट टसमस छैनन् ।

विशेष महाधिवेशनबाट सभापति हुन महामन्त्री थापाले चाहेका छन् । उनी विघटित प्रतिनिधिसभामा कांग्रेस संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिस्पर्धा गर्ने नेता हुन् । अब १५औँ महाधिवेशनमा भने पार्टी सभापतिमै थापाको नजर छ ।

थापा केन्द्रीय सदस्य र महामन्त्री भिन्‍नभिन्‍न गुटबाट भएका थिए । नेता कृष्णप्रसाद सिटौला गुटबाट उनी केन्द्रीय सदस्य र डा. शेखर कोइराला गुटबाट उनी महामन्त्री भएका हुन् । यसपटक भने आफैं गुट निर्माण गरेर थापा सभापतिको कुर्सीमा पुग्‍न तम्तयार छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *