नेकपाले सापकोटालाई दियो राष्ट्रियसभा सदस्य उम्मेदवारको ‘टिकट’
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोकका नेता प्रेम सापकोटालाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गराउने गरी सापकोटालाई उम्मेदवार चयन गरेको हो।
नेकपाका अनुसार सापकोटाले जनयुद्ध, जनआन्दोलन तथा पछिल्ला सबै परिवर्तनकारी आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै पार्टीप्रति निष्ठापूर्वक योगदान पुर्याउँदै आएका छन् । लामो समयदेखि संगठन निर्माण र जनसम्पर्कमा खटिँदै आएका अनुभवी र प्रतिबद्ध नेताका रूपमा उनलाई उम्मेदवार बनाइएको नेता माधव सापकोटाले जानकारी दिए ।
आज बिहान पार्टी नेतृत्वको उपस्थितिमा उम्मेदवारी प्रक्रिया अघि बढाइएको हो । सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेकपा संयोजक प्रचण्डले प्रेम सापकोटालाई राष्ट्रियसभा सदस्यको उम्मेदवारीको टिकट प्रदान गरेका हुन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज नै मनोनयन दर्ता हुँदैछ । नेकपाले बागमती प्रदेशमा आफ्नो प्रभाव र संगठनात्मक बललाई थप सुदृढ बनाउने उद्देश्यसहित अनुभवी र संघर्षशील नेतालाई अघि सारेको पार्टी स्रोतको भनाइ छ । पार्टी निर्णयसँगै सिन्धुपाल्चोक र बागमती प्रदेशका कार्यकर्ता तथा समर्थकहरूमा उत्साह बढेको देखिएको छ ।

