झलनाथ खनालको प्रश्न : देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ?
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरुलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताएका छन् । बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जेन–जी आन्दोलनका क्रममा सरकारी सम्पति जलाउनेहरु अपराधी भएको बताए । उनीहरुलाई अन्तरिम सरकारले के गर्छ ? भन्दै प्रश्न गरे । अपराधीहरुले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ ? उनको प्रश्न छ । निर्वाचन देशमा चाहिएको तर त्यसका लागि आवश्यक पूर्वाधार नरहेको बताए । उनले भने, ‘सरकारको सम्पति जलाउनेहरु अपराधी हुन् की होइनन् । यो सरकार जुन चलिरहेको छ, यो सरकारका सामुन्ने अपराधी हुन् की होइनन् ? यो सरकारले तिनीहरुलाई कारबाही गर्नुपर्छ की पर्दैन ? अनि ती अपराधीहरुले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ होला ? यो देशमा ।’
उनले भने, ‘के चुनाव हुन्छ होला, चुनाव भयो भने पनि के परिणाम आउँछ होला । यो बढो संकटको अवस्था छ । चुनाव त चाहिएको छ । चुनाव गर्नुपर्छ भनेर हामी लागेका छौँ । चुनाव हुनुपर्छ तर पूर्वाधारहरु तयार गर्नुपर्नेछ । ९० हजार बुलेटहरु कब्जा भएका छन् । फर्काइएको छैन । १२ हजार राइफल कब्जा भएका छैनन् । १४ हजार त बन्दी बाहिर गएका छन् । ६ हजार आएका छैनन् ।’ देशको निम्ति हित हुने शिक्षा जरुरी रहेको बताए । शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताए । राष्ट्रिय शिक्षा नीति नै परिवर्तन गर्न जरुरी रहेको बताए ।
नेता खनालले अब संविधान सभाबाट संविधान बन्ने कल्पना गर्न नसकिने बताएका छन् । उनले २४ घण्टामा भएको जेन–जी प्रदर्शनले देश सखाप बनाएको भन्दै अब २५ वर्ष पछि देश धकेलिएको बताए । उनले जेन–जी प्रदर्शन कसैलाई गर्व लागे पनि वास्तवमा संविधान सखाप बनाउने काम भएको बताए । उनकाअनुसार संविधान तोडफोड गरिएको छ, अब अर्को संविधान सभा बनेर संविधान बन्ने कल्पना पनि गर्न सकिँदैन । नेपाल संवैधानिक हिसावले अग्रगामी देश भएको बताए ।
उनले भने, ‘२४ घण्टाको बीचमा त्यो प्रकारको विध्वंश भयो । त्यो निर्माण गर्न कम्तिमा २५ वर्ष भन्दा अघि निर्माण गर्न सकिँदैन । कसैलाई यो आन्दोलनमा गर्व लाग्छ होला । भयंकर ठूलो, क्रान्ति हो भन्ने लाग्छ होला । तर भएकै संविधान पनि झण्डै झण्डै समाप्त भएको । अलि अलि तोडफोड गरेर बाँकी रहेको छ । संविधानको तोडफोड भयो । सग्लो संविधान त छैन । त्यो संविधान सभाले बनाएको हो । अब अर्को संविधान बनेर अर्को संविधान बन्ने कल्पना पनि गर्न सकिँदैन । अब हुँदैन त्यो । पहिलो पटक संविधान सभाबाट बन्यो । संविधान सभाबाट बनेका संविधान ४२ वटा मात्रै छन् । त्यस अर्थमा नेपाल त संवैधानिक हिसावले अग्रगामी देश हो । अहिले हामी एउटा अफ्ठ्यारो अवस्थाबाट अघि बढ्दैछौँ ।’नेता खनालले देश अहिले अफ्ठ्यारो स्थितिबाट अघि बढिरहेको बताएका छन् ।
