`

राष्ट्रिय एकता र समृद्धिको भार हाम्रो काँधमा छ : प्रचण्ड

Nepal One HD २४ पुष २०८२ १७:२१
प्रमुख खबर

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ चरणमा लैजाने दावी गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट घटकहरूलाई एकीकृत गर्ने अभियानमा आफू सक्रिय रहेको बताएका छन् । राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धिलाई संस्थागत गर्न बृहत् कम्युनिष्ट एकताको आवश्यकता रहेको उनको जोड छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले देशको वर्तमान राजनीतिक र आर्थिक चुनौती एक्लो प्रयासले समाधान नहुने बताए । ‘देशलाई समृद्ध बनाउने र राष्ट्रिय एकतालाई मजबुत पार्ने जिम्मेवारी साझा हो’, उनले भने, ‘त्यसका लागि बृहत् राष्ट्रिय एकता अपरिहार्य छ ।’ उनले यही आवश्यकतालाई आत्मसात गर्दै विभिन्न १७ वटा साना–ठूला कम्युनिष्ट घटकलाई समेटेर नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको उल्लेख गरे । यो एकीकरण कुनै औपचारिक मिलन मात्र नभई, वैचारिक र संगठनात्मक मजबुतीको आधार भएको दाहालको दाबी छ ।

संयोजक दाहालले पछिल्लो समय देशभर—प्रदेश, जिल्ला र पालिकास्तरसम्म—युवापुस्ताको आकर्षण नेपाली कम्युनिष्ट पार्टीतर्फ बढ्दै गएको दाबी पनि गरे । विशेषगरी ‘जेन–जी’ युवाहरूले आफ्ना भावना, सोच र भविष्यका आकांक्षालाई सही ढंगले प्रतिनिधित्व गर्न सक्ने राजनीतिक शक्ति नेकपा नै भएको बुझ्दै गएको उनको भनाइ थियो ।

‘आज पार्टी प्रवेश गर्नेहरूमा अधिकांश जेन–जी युवाहरू हुनुहुन्छ’, उनले थपे, ‘यसले देशभर सकारात्मक सन्देश प्रवाह भएको छ । युवापुस्ताले राजनीतिलाई नयाँ दृष्टिकोणबाट हेर्न थालेको संकेत हो ।’ कार्यक्रममा पार्टी प्रवेश गर्ने जेन–जी युवापुस्तालाई स्वागत गर्दै दाहालले मुलुकको वृहत्तर हितका लागि सधैं जिम्मेवार र सक्रिय रहन आग्रह गरे । उनले युवाशक्तिलाई परिवर्तनको मुख्य आधारका रूपमा चित्रण गर्दै, राष्ट्रिय स्वाधीनता र समृद्धिको यात्रामा अग्रपंक्तिमा उभिन आह्वान गरे । समग्रमा, कम्युनिष्ट एकता, युवापुस्ताको सहभागिता र आर्थिक समृद्धिको एजेण्डालाई केन्द्रमा राख्दै प्रचण्डले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत दिएको विश्लेषकहरू बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *