म्यादीका लागि आवेदन दिनेको घुँइचो, बेरोजगारदेखि जागिर छोडेर आएकासम्म
फागुन २१का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी (म्यादी प्रहरी) को आवेदन खुला गरेसँगै देशभरका जिल्ला प्रहरी कार्यालयमा आवेदकको घुइँचो लागेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा आवेदन दिन लाइन लागेकाहरूसँग म्यादीमा प्रहरीमा भर्ना हुन चाहनुको आ-आफ्नै कारण छ । यहाँ बेरोजगारीका कारण ४० दिन भए पनि जागिर खान आएका देखि जागिर छोडेर आउनेहरूसम्म छन् ।
देशभर बढ्दो बेरोजगारी, सीमित रोजगारीका अवसर र अस्थायी भए पनि आयको स्रोत बन्ने अपेक्षाले धेरै युवाहरू निर्वाचन प्रहरी बन्न इच्छुक देखिन्छन्। आवेदन दिन आएका अधिकांशले बाध्यता र रहर दुवै कारणले आफू आवेदन दिन आएको बताए ।
जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन आइपुगेका इलामको सूर्योदय नगरपालिकाका विधान बाँस्तोलाले केही समयको लागि भएपनि पनि यो वैकल्पिक रोजगारीको बाटो भएको धारणा व्यक्त गरे ।
‘यो युवाहरूका लागि सरकारले सिर्जना गरेको वैकल्पिक रोजगारीको अवसर हो’, बाँस्तोलाले भने ‘करिब ४०–५० दिनको कामपछि आकर्षक सेवा सुविधा पाइने हुँदा केही समय भए पनि रोजगारीको मौका मिल्यो।’ काठमाडौंको बुढानिलकण्ठ उनी निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा पनि लिन्छन् । यो निर्वाचनबाट विकास गर्ने नेतृत्व अगाडि आउनुपर्ने उनको अपेक्षा छ।
धेरै आवेदकहरूले निर्वाचन प्रहरी बन्ने अवसरलाई देश सेवाको माध्यमका रूपमा पनि लिएका छन् । ‘निर्वाचन भनेको हामीले ल्याएको परिवर्तन हो, त्यसको सुरक्षा गर्नु हाम्रो दायित्व पनि हो’, रानीवनबाट आएका आर्यन बरालले भने ‘रोजगारीको अभावका कारण धेरै युवाहरू विदेशिन बाध्य छन्, यस्ता काआर्यक्रमले केही समय भएपनि देशमै बस्ने वातावरण बन्छ।’
निर्वाचन प्रहरी बन्ने चाहना कतिपयका लागि सुरक्षासेवा क्षेत्रमा भविष्य खोज्ने माध्यम पनि बनेको छ। प्रहरी, सेना वा अन्य सुरक्षा निकायमा जाने तयारी गरिरहेका युवाहरूले यसलाई अनुभव बटुल्ने अवसरका रूपमा लिएका छन् । ‘कस्तो हुँदोरहेछ भनेर बुझ्न पनि आएको हुँ, राम्रो लाग्यो भने पछि नियमित सेवातिर पनि जान सकिन्छ,’ थलीका विजय गजमेर बताए।
कतिपयले भने निर्वाचन प्रहरीको जागिर खान आउनु बाध्यता भएको गुनासो पोखे । ‘रोजगारी छैन, कोठामा बसेर खर्च चल्दैन। ४० दिन भए पनि काम पाइयो भने खान र हिँडडुल गर्न सजिलो हुन्छ,’स्वयम्भूका एक युवाले भने, ‘पास भए सुरक्षा दिन्छु, फेल भए राम्रो मान्छेलाई समर्थन गर्छु भन्ने मानसिकताले मा आएँ।’
निर्वाचन प्रहरीको आवेदन दिने लाइनमा महिलाको सहभागिता पनि उल्लेखनीय देखिएको छ । निर्वाचन प्रहरीको आवेदन दिन आएकी उर्मिला राई देशको लागि सेवा गर्न पाउनु ठुलो कुरा भएको बताउँछिन् ।
‘देशको लागि सेवा गर्न पाउनु नै ठूलो कुरा हो, निर्वाचन प्रहरीको अनुभवले भविष्यमा सुरक्षा सेवामा जान थप आत्मविश्वास दिन्छ’, राईले भनिन्, ‘मेरो आर्मी र पुलिस दुवैमा रुचि छ, त्यसकै तयारीको क्रममा यहाँ आएको हुँ।’
बालाजु बस्ने सानुमाया अधिकारीले भने यो अवसरलाई रमाइलो अनुभवका रूपमा लिएको बताइन् । ‘निर्वाचन प्रहरी रहर पनि हो, बाध्यता पनि हो । जागिर छोडेर यहाँ आएको हुँ’, उनले हाँस्दै भनिन्, ‘४० दिन भए पनि काम गर्न पाइयो भने अनुभव र आम्दानी दुवै राम्रो हुन्छ।’ उनले अघिल्लो निर्वाचनमा पनि म्यादी प्रहरीमा काम गरेकी थिइन् ।
देशैभरका प्रहरी कार्यालयमा देखिएको भिडले निर्वाचनप्रति आम नागरिकको चासो र सहभागिता पनि झल्काउँछ । धेरै आवेदकहरू आगामी निर्वाचनलाई परिवर्तनको निर्वाचन का रूपमा हेर्छन्। यो निर्वाचनबाट नयाँ सरकार, नयाँ नेतृत्व र सकारात्मक परिवर्तनको अपेक्षा उनीहरूमा स्पष्ट देखिन्छ।
निर्वाचन प्रहरीको रूपमा काम गर्नेहरूले मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी, मतदाता परिचालनमा सहयोग लगायतका जिम्मेवारी सम्हाल्नेछन्। सीमित अवधिको भए पनि यसले लाखौ युवालाई रोजगारी, अनुभव र देशसेवाको अवसर प्रदान गरेको छ।
देशभर देखिएको आवेदनको उत्साहले एकातिर बेरोजगारीको गम्भीर अवस्था उजागर गरेको छ भने अर्कोतिर नागरिकहरू निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन कति उत्साहित छन् भन्ने पनि देखाएको छ।
प्रहरीका अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, सामान्य लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन् । माघ १ गतेसम्म आवेदन लिइने निर्वाचन प्रहरीको नतिजा माघ १२ गते प्रकाशित गरिने प्रहरीले जनाएको छ। नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीका लागि आवेदन आह्वान गरेको हो ।
