`

पार्टी जाेगाउने कित्तामा डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मा, देउवा र महामन्त्रीपक्षलाई के भने ?

Nepal One HD २६ पुष २०८२ १३:४१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलगायतका नेताहरूले पार्टी एकताको पक्षमा वकालत गरेका छन् ।

पार्टी निर्णयविपरीत महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आह्वान गरेपछि विभाजनको डिलमा पुगेको कांगेसलाई फुटबाट जोगाउने उद्देश्यका साथ शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता भण्डारीलगायतका नेताहरूले पार्टी एकताको पक्षमा केन्द्रित हुन संस्थापन पक्ष र इतर पक्ष दुवैलाई दबाब दिए ।

कांग्रेसलाई देशको नेतृत्व गर्ने शक्ति बनाउनका लागि फुट हुन नदिन आफूहरू लागि परेको नेता भण्डारीले बताए । उनले आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनलाई नीति महाधिवेशनको रुपमा लिएर पार्टी सभापति शेरबहादुर देउवालाई पनि सहभागी हुन आग्रह गरे ।

नेताहरूलाई एकतावद्ध हुनका लागि आग्रह गर्न आफूहरू लागि परेको उनको भनाइ छ ।

नेता भण्डारीले भने, ‘अहिले हामी पार्टी मिलाउने पक्षमा छौँ । हामी पार्टीलाई फुट्न नदिने कित्तामा छौँ । विशेष महाधिवेशनमा पार्टी सभापतिसहितका नेताहरू सहभागी हुनुपर्छ । मुलुकलाई संकटबाट जोगाउन पनि कांग्रेसलाई फुटबाट जोगाउनुपर्छ ।’

कांग्रेस नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनमा पार्टी सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरू पनि सहभागी हुने विश्‍वास व्यक्त गरे ।

उनले सभापति देउवालाई सम्मानजनकरुपमा बिदाई गर्न आफूहरूले चाहेको बताए ।

उनले भने, ‘विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरू पनि सहभागी हुनुहुनेछ । पार्टी सभापति देउवाको सम्मानजनक बिदाईको पक्षमा छौँ । पार्टी एकताको पक्षमा हामी छौँ ।’

नेता शर्माले डा. शेखर कोइराला पनि पार्टी एकताको पक्षमा रहेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *