`

कांग्रेसका कुन-कुन समिति खुले विशेष महाधिवेशनको पक्षमा ?

Nepal One HD २६ पुष २०८२ १४:२६
नेपाली कांग्रेस

नेपाली कांग्रेसका देशैभरका विभिन्न समितिहरू भोलिबाट सुरू हुने भनिएको  विशेष महाधिवेशनको पक्ष र विपक्षमा खुलिरहेका छन्।  प्रदेश, जिल्ला, क्षेत्रिय, पार्टीका भातृ संगठन लगायतका समितिहरु छन्। विभिन्न समितिहरूल विज्ञप्ती जारी गर्दै महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागिता जनाउन र नजनाउन आह्वान गरिरहेका छन्।

अधिवेशनको पक्षमा कति विपक्षमा कति  ?

बिहीबारदेखि नै विशेष महाधिवेशनमा सहभागिता जनाउन विभिन्न जिल्लाबाट प्रतिनिधीहरु काठमाडौँ आउन थालेका छन् । यो क्रम आज शनिबार पनि जारी छ ।   

लुम्बिनी प्रदेश विशेष महाधिवेशनको पक्षधरका रुपमा खुल्ने सबैभन्दा शक्तिशाली प्रदेशका रुपमा देखिएको छ । लुम्बिनीबाट विशेष महाधिवेशनमा करीब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाइएको छ । लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन महाधिवेशनको तयारीको क्रममा भृकुटीमण्डपमा खटिरहेका छन्। 

त्यस्तै, गण्डकी प्रदेशका पार्टी सभापति शुक्रराज शर्मा पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। गण्डकी प्रदेशबाट पनि महाधिवेशनमा उल्लेख्य सहभागीताको अपेक्षा विशेष महाधिवेशनको छ ।   

त्यस्तै, बागमती प्रदेशबाट उपसभापतिद्वय चन्द्र महर्जन र मोहन बहादुर बस्नेतसहित पाँच जना प्रदेश कार्यसमितीका पदाधिकारी विशेष महाधिवेशनको पक्षमा देखिएका छन्।   

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिका दुई उपसभापतिद्वय चन्द्र शेखर कुमार यादव र विरेन्द्रप्रसाद सिंह विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । 

अहिलेसम्म देशैभरका ३० भन्दा बढी जिल्लाका जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । त्यस्तै ३० भन्दा बाहेकका अन्य जिल्लाहरुमा पनि जिल्ला कार्यसमितिका उपसभापति, सचिव लगायतका पदाधिकारीहरुले विशेष महाधिवेशनका पक्षमा प्रेस विज्ञप्ती जारी गरिरहेका छन्। 

कोशी प्रदेशमा जिल्ला कार्यसमिती पाँचथरले विशेष महाधिवेशनका पक्षमा जारी गरेको विज्ञप्तीमा दुईजना उपसभापति, सचिव र सहसचिवको हस्ताक्षर छ । भोजपुरबाट एक/एक जना उप-सभापति, सचीव, सहसचिव र कोषाध्यक्षको विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर आएको छ। धनकुटाका सभापति दिनेश राईले पुष २४ मै विशेष महाधिवेशनका पक्षमा विज्ञप्ती जारी गरेका थिए। तेह्रथुमका सभापति अर्जुनबहादुर तुम्बाहाम्फेले पनि विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । कोशीबाट झापा जिल्ला सभापति उद्धव थापा भने महाधिवेशनका विपक्षमा खुलेका छन् ।    

मधेश प्रदेशमा जिल्ला कार्यसमिति रौतहटले जारी गरेको प्रेस विज्ञप्तीमा दुईजना उपसभापति र सचिवको हस्ताक्षर भएको प्रेस विज्ञप्ती जारी गरेको छ। मधेशकै अर्को जिल्ला बाराका जिल्ला सभापति र सचिवद्वय भैयाराम यादव/राजेश रौनियारले पनि विशेष महाधिवेशनमा पक्षधरता देखाएका छन् । 

विशेष महाधिवेशन हुने बागमती प्रदेशमा जिल्ला कार्यसमिती काठमाडौँका सभापति कृष्ण बानिया पनि विशेष महाधिवेशनका पक्षमा देखिएका छन्। यता नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र न. २ कार्यसमितिका सभापतिले यसअघि नै विशेष महाधिवेशनका पक्षमा जारी गरिसकेका छन् । जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले विशेष महाधिवेशनका पक्षमा जारी गरेको प्रेस विज्ञप्तीमा जिल्ला सभापतिका अलावा दुईवटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र र तीनवटा प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिको हस्ताक्षर छ।  सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका सभापति जंग बहादुर लामा पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । बागमती प्रदेशकै जिल्लाहरु उदयपुर र ललितपुर जिल्ला कार्यसमितिका सभापतिहरुले पनि विशेष महाधिवेशनमा सहभागी हुनेबारे प्रेस विज्ञप्ती जारी गरेका छन्। 

चितवन सभापति राजेश्वर खनालले सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाविनाको विशेष महाधिवेशनमा सहभागी नहुने भन्दै विज्ञप्ति निकालेका छन् भने  सिन्धुली, रामेछाप, मकवानपुर, दोलखा, धादिङका जिल्ला सभापति भने महाधिवेशनका सन्दर्भमा मौन देखिएका छन्। 

जिल्ला कार्यसमिती बागलुङले जारी गरेको प्रेस विज्ञप्तीमा जिल्लाका ६ वटा पालिका, दुई वटा प्रदेश सभाका क्षेत्रीय कमिटीका सभापती, दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, जिल्ला कार्यसमितिका दुईजना उपसभापति र सचिवको हस्ताक्षर छ। पर्वतबाट ६ पालिका सभापति, दुई प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति र जिल्ला कार्यसमितिका सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । लमजुङका सातवटा पालिका सभापति सहित जिल्ला कार्यसमितिका सचीव विमल श्रेष्ठले विशेष महाधिवेशनका पक्षमा विज्ञप्ती जारी गरेका छन् । त्यस्तै, गोरखामा १० वटा पालिका, दुई वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र, चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिका सबै सभापतिहरु विशेष महाधिवेशनको पक्षमा छन् । नेपाली काङ्ग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पनि गत पुस २४ मै महाधिवेशनका पक्षमा प्रेस विज्ञप्ती जारी गरेका थिए । नेपाली काङ्ग्रेस तनहु महाधिवेशनका सन्दर्भमा विभाजित देखिएको छ।  तनहुबाट केही महाधिवेशन प्रतिनिधी काठमाडौँ आइसकेका छन्।  

लुम्बिनी प्रदेशमा सल्यानबाट नेपाली काङ्ग्रेस प्रदेश सभा ‘क’ कार्यसमितिका सभापति सुरेश चन्दले अधिवेशनका पक्षमा विज्ञप्ती जारी गरेका छन् । लुम्बिनी प्रदेशकै अर्को जिल्ला बाँकेबाट जिल्ला सभापति नारायण प्रसाद गौडेल अधिवेशनको पक्षमा देखिएका छन् । रोल्पा जिल्लाका सभापतिले विशेष महाधिवेशनमा सहभागी हुन भन्दै प्रेस विज्ञप्ती जारी गरेका छन् । लुम्बिनीका जिल्ला सभापतिमध्ये गुल्मीका खिलध्वज पन्थी, अर्घाखाँचीका केशव श्रेष्ठ, प्युठानका विष्णु गिरी, रुकुम पूर्वका केशरमान रोकाया, पाल्पाका हिमालदत्त श्रेष्ठ शेखर, कपिलवस्तुका अब्दुल कलाम पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । त्यस्तै, नेपाली काङ्ग्रेस पाल्पा जीला कार्यसमिति पाल्पाका जिल्ला सभापतिले पनि विशेष महाधिवेशनको पक्षमा प्रेस विज्ञप्ती जारी गरेका छन् । यता कांग्रेस नवलपरासी पनि विशेष महाधिवेशनको पक्षमा देखिएको छ ।  परासी काङ्ग्रेस जिल्ला कार्यसमितिका सभापति महेन्द्रध्वज जी.सी. ले महाधिवेशन प्रतिनिधिलाई अधिवेशनमा सहभागी हुन अपिल गरेका छन् । 

यसले लुम्बिनी प्रदेशमा काङ्ग्रेस संस्थापन पक्षलाई अल्पमतमा परेको देखाएको छ।  तर, यसअघि महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केहीले भने अहिले फिर्ता लिइरहेका छन्। 

कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला सभापतिहरु विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । शुक्रबार जिल्ला सभापतिहरू सुर्खेतका खड्गबहादुर पोखरेल, दैलेखका मणिराम रेग्मी, जाजरकोटका वेदराज सिंह, जुम्लाका कर्णबहादुर शाही, मुगुका ऐनबहादुर शाही, हुम्लाका मोहनविक्रम सिंह, रुकुम पश्चिमका प्रेमप्रकाश ओली र डोल्पाका (कार्यवाहक) लवकुमार शाहीले संयुक्त विज्ञप्ति निकालेर महाधिवेशनमा सहभागी नहुन भनेका छन् । त्यस्तै, कालीकोटका सभापति अम्मबहादुर शाहीले पनि छुट्टै विज्ञप्ति निकालेर आफू नियमित महाधिवेशनको पक्षमा रहेको बताएका छन् । 

जुम्लाबाट यसअघि नै १९ जना प्रतिनिधि विशेष महाधिवेशनका लागि काठमाडौँ प्रस्थान गरिसकेका छन् । 

सुदूरपश्चिमका नौ मध्ये ६ जिल्ला सभापतिले विशेष महाधिवेशनमा सहभागी नहुन प्रेस विज्ञप्ती निकालेका छन् । बझाङका सभापति खडक बहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा सभापति भिम साउद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्टले बिहीबार विशेष महाधिवेशनको विपक्षमा संयुक्त विज्ञप्ती जारी गरेका हुन् । बाजुरा, बझाङ र दार्चुलाका जिल्ला सभापतिहरुलाई संस्थापन इतर मानिए पनि विशेष महाधिवेशनका सन्दर्भमा भने उनीहरु मौन छन् । 

नेपाली कांग्रेसनिकट इन्जिनयरहरू पनि पार्टीको विशेष महाधिवेशनलाई लिएर पक्षविपक्ष भएका छन् । शुक्रबार काठमाडौंमा एक भेला गरेर कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन), नेपाल इन्जिनियर्स एसोसिएसनका वर्तमान तथा पूर्वपदाधिकारीहरु, इन्जिनियरीङ्ग क्षेत्रबाट प्रतिनिधित्व गर्ने महासमिति तथा महाधिवेशन प्रतिनिधिहरूले ईन्जिनियर तथा आर्किटेक्टहरूको एक पक्षको भेलाले विशेष महाधिवेशनको पक्षमा खुल्ने निष्कर्ष निकालेको हो ।

त्यस्तै नेपाल विधार्थी संघको एक खेमा पनि विशेष महाधिवेशनको पक्षमा देखिएको छ। संस्थापन इतर पक्षले विज्ञप्ती नै जारी गरेर विशेष महाधिवेशन सफल बनाउन आह्वान गरेको छ। स्ववियु परिषद नेपाल पनि विशेष महाधिवेशनका पक्षमा देखिएको छ। स्ववियु परिषद नेपालका सभापति प्रसान राईले विशेष महाधिवेशन सफल बनाउन अपिल गरेका छन्।  

त्यस्तै नेपाल मुस्लिम संघका महासचिव प्रवेज आलम अन्सारी विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । 

नेपाली काङ्ग्रेस जनसम्पर्क समिति कोरियाले पनि विशेष महाधिवेशनका पक्षमा प्रेस विज्ञप्ती जारी गरेको छ। 

विशेष महाधिवेशन पक्षधरहरूले ६० प्रतिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउने दाबी गरिरहेका छन् ।

महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशन तयारी भइरहँदा मध्यमार्गी बाटो अपनाएका शेखर कोइराला भने विशेष महाधिवेशन र नियमित महाधिवेशन कुनै पनि पक्षमा खुलेका छैनन् । आज मात्रै कोइरालाले विशेष महाधिवेशन रोकेर पार्टी विभाजन रोक्न भनेर पार्टी सभापति शेरबहादुर देउवासँग छलफल पनि गरे ।   

अहिले कांग्रेसमा महाधिवेशनलाई लिएर संस्थापन पक्ष र इतर पक्षका आ-आफ्नै धारणा छन् । संस्थापन पक्षले चुनावको मुखमा महाधिवेशन पार्टीका लागि आत्मघाती हुने दाबी गर्दै आएको छ भने थापा पक्षले जसरी पनि विशेष महाधिवेशन गरिछाड्ने उद्घोष गरिरहेको छ। यसैका लागि विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा हलबुक गर्नेदेखि लिएर मंच निर्माण सम्मका कार्यहरु तिव्र रुपमा गरिरहेको छ । 

अर्को पट्टी संस्थापन पक्षले भदौ २७ र २८ मा छुट्टाछुट्टै कार्यक्रम बोलाएको छ। संस्थापन पक्षले पुस २७ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा तरुणहरुको भेला बोलाएको छ भने पुस २८ मा जिल्ला सभापतिहरुको भेला बोलाएको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *