`

निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

Nepal One HD २७ पुष २०८२ ६:१८
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्दै, सामाजिक, आर्थिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरूलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल एकिकरणका योद्धा, वीर पुर्खा, महान् सहिद र आमनेपाली जनताको ‘समृद्ध नेपाल तथा सुखी नेपाली’को सपना साकार पार्न समाजवाद कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दै तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको राज्य विस्तार अभियानको सुुरुआतसँगै नेपालको पूर्वपश्चिम, हिमाल, पहाड र तराईमा रहेका स–साना राज्यहरूलाई एकीकरण गर्ने सिलसिला पनि सुरु भएको पूर्वप्रधानमन्त्री खनालले उल्लेख गर्नुभयो ।

तात्कालिक समयका वीर पुर्खाको साहस, पराक्रम र दूरदर्शिताको परिणामस्वरुप हाम्रो मातृभूमि नेपाल आज एक स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रूपमा तथा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रूपमा विश्वमा परिचित रहेको उहाँले विचार व्यक्त गर्नुभयो । बदलिँदो अन्तरराष्ट्रिय स्थिति, नेपाल र नेपाली जनताको आमूल परिवर्तनको आकाङ्क्षालाई पूरा गर्न आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरूलाई विजय गराउनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालले जोड दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *