किसुनीजीलाई सम्झेर देउवाले भोली बन्दसत्र उद्घाटन गर्न आउनुपर्छ : चन्द्र भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई पूर्व सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई स्मरण गर्दै पार्टी बचाउन आग्रह गरेका छन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भण्डारीले कांग्रेसको इतिहास स्मरण गराउँदै नेतृत्वबीचको एकता र सहमतिलाई प्राथमिकता दिनुपर्ने बताए।
‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा किसुनजी सभापति हुनुहुन्थ्यो, यस्तै भेलामा किसुनजी आएर ‘जय नेपाल, हामीबीच कुनै विमति छैन’ भन्नुभएको थियो’, सम्बोधनका क्रममा भण्डारीले भने, ‘किसुनजीका अनुयायी शेरबहादुर दाइ आएर कांग्रेस बचाउनुपर्छ।’
उनले मुलुक गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै भौतिक तडक–भडकले देश नबन्ने स्पष्ट पारे। ‘राम्रा गाडी चढेर र चिल्ला कुरा गरेर देश बन्दैन,’ भण्डारीले भने, ‘गाडी दिएर मुलुक अगाडि बढ्न सक्दैन, व्यक्ति विचारले चल्छ, पदले मुलुक बन्दैन।’
भण्डारीले कांग्रेसका ऐतिहासिक नेताहरू बी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाप्रति पार्टीले अपेक्षित सम्मान दिन नसकेको पनि बताए।
