`

काङ्ग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्रमा कुन नेताले के भने ?

Nepal One HD २७ पुष २०८२ १९:१३
नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन भृकुटीमण्डपमा आइतबारबाट सुरु भएको छ। खुला सत्रको उद्घाटन गर्दै कांग्रेसका २० भन्दा बढी नेताले पार्टीको वर्तमान नेतृत्व, आन्तरिक लोकतन्त्र र रूपान्तरणको आवश्यकतामाथि धारणा राखेका छन्।

उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताले पार्टी सभापति शेरबहादुर देउवालाई बन्दसत्रको उद्घाटनका लागि उपस्थित हुन आग्रह गर्दै कांग्रेसलाई विधि, विधान र लोकतान्त्रिक मूल्यअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

नेताहरूले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मरण गर्दै यो विशेष महाधिवेशन कांग्रेस रूपान्तरणको ऐतिहासिक अवसर भएको बताएका छन्।

गगन–विश्वप्रकाशको नेतृत्वमा नयाँ युग

कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले कांग्रेस अब गगन थापा र विश्वप्रकाश शर्माको युगमा प्रवेश गरेको बताएका छन्। जेन–जी आन्दोलनपछि सभापतिलाई सम्झाउने प्रयास सफल नभएको उल्लेख गर्दै उनले सभापति देउवालाई अझै पनि बन्दसत्रमा आएर पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन आग्रह गरे।

विशेष महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै मन्सुरले मेची–महाकालीबाट प्रतिनिधि सहभागी भएकाले अब नयाँ कांग्रेस बनाउने सपना पूरा हुने बताए।

‘किसुनजी सम्झेर कांग्रेस बचाउनुस्’

नेता चन्द्र भण्डारीले पूर्व सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई स्मरण गर्दै सभापति देउवालाई कांग्रेस जोगाउन आग्रह गरे। उनले भौतिक तडक–भडकले देश नबन्ने भन्दै विचार र मूल्यले मात्रै मुलुक अघि बढ्ने धारणा राखे। कांग्रेसले ऐतिहासिक नेताहरूप्रति अपेक्षित सम्मान गर्न नसकेको उनको गुनासो थियो।

‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा किसुनजी सभापति हुनुहुन्थ्यो, यस्तै भेलामा किसुनजी आएर “जय नेपाल, हामीबीच कुनै विमति छैन” भन्नुभएको थियो,’ सम्बोधनका क्रममा भण्डारीले भने, ‘किसुनजीका अनुयायी शेरबहादुर दाइ आएर कांग्रेस बचाउनुपर्छ।’

उनले मुलुक गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै भौतिक तडक–भडकले देश नबन्ने स्पष्ट पारे। ‘राम्रा गाडी चढेर र चिल्ला कुरा गरेर देश बन्दैन,’ भण्डारीले भने, ‘गाडी दिएर मुलुक अगाडि बढ्न सक्दैन, व्यक्ति विचारले चल्छ, पदले मुलुक बन्दैन।’

विधानअनुसार विशेष महाधिवेशन

नेता प्रदीप पौडेलले विधानले निर्दिष्ट गरेअनुसार नै विशेष महाधिवेशन अघि बढेको बताए। नियमित महाधिवेशन समयमै नगरेकाले विशेष महाधिवेशनको अवस्था आएको उनको भनाइ थियो।

‘विशेष महाधिवेशन दर्ता गरेको तीन महिनाभित्र नियमित महाधिवेशन गरिएको भए विशेष महाधिवेशन स्वतः निष्क्रिय हुने थियो,’ उनले भने, ‘कांग्रेस नेताहरूले महाधिवेशन माग गर्नेहरूको भावना नबुझेका कारण आज विशेष महाधिवेशन आयोजना भएको हो।’

‘पार्टी कब्जा गरिएको छ’

नेता सुनिल शर्माले सभापति देउवाले पार्टी कब्जामा लिएको आरोप लगाए। उनले पार्टीभित्र लोकतान्त्रिक मूल्य कमजोर हुँदै गएको र विचारधाराबाट विचलन भइरहेको दाबी गरे। देउवालाई बन्दसत्र उद्घाटनका लागि आउन चुनौती दिँदै उनले खुला प्रतिस्पर्धाबाट भाग्न नहुने बताए।

सभापति देउवाप्रति कटाक्ष गर्दै शर्माले भने, ‘शेरबहादुर दाइ, तपाईंलाई माथिबाट बोलाइरहेको बेला पार्टीमा रोइलो नमच्चाउनुस्।’ उनले नेतृत्व प्रतिस्पर्धाबाट भाग्न नहुने भन्दै महाधिवेशनमा खुला प्रतिस्पर्धाको आह्वान गरे।

‘भोलि बिहान हल उद्घाटन गर्न आउनुस्,’ शर्माले भने, ‘आउनुस्, प्रतिस्पर्धा गरौँ। जसले हारे पनि लोकतन्त्रले हार्नु हुँदैन।’

नेताको होइन, नीतिको कांग्रेस

नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई व्यक्तिकेन्द्रित होइन, नीतिकेन्द्रित पार्टी बनाउने बेला आएको बताए। ‘परिक्रमा गर्ने होइन, पराक्रम गर्नेको कांग्रेस बनाउनुपर्छ,’ उनको भनाइ थियो।

मुलुकलाई भ्रष्टाचारको दलदलबाट निकाल्नेमा उनले जोड दिए।

विधि र विधानको जोड

पूर्व उपसभापति गोपालमान श्रेष्ठले कांग्रेस कुनै व्यक्तिको पेवा नभई विधानअनुसार चल्नुपर्ने बताए। इतिहासका उपलब्धिमात्र सम्झेर भविष्य सुरक्षित नहुने चेतावनी पनि उनले दिए।

‘दक्षिण एसियामा हाम्रो आकाशमा बादल मडारिएको छ,’ उनले भने।

इतिहासका उपलब्धिहरू मात्र स्मरण गरेर भविष्य सुरक्षित नहुने धारणा व्यक्त गर्दै श्रेष्ठले भने, ‘राजा फाल्यौँ, प्रजातन्त्र ल्यायौँ भनेर इतिहासको ब्याज खाएर भविष्य चल्दैन।’

उनले नेपाली कांग्रेस कमजोर भए देशको लोकतन्त्र नै कमजोर हुने भन्दै पार्टीलाई सशक्त, अनुशासित र विधानसम्मत ढंगले अघि बढाउन आवश्यक रहेको बताए।

‘कोमामा रहेको कांग्रेस ब्यूँतियो’

बैतडी कांग्रेस सभापति चतुरबहादुर चन्दले चार महिनादेखि कोमामा रहेको कांग्रेसलाई महामन्त्रीद्वयले प्राण दिएर बाहिर निकालेको टिप्पणी गरे।

‘कांग्रेस अब यो देशको अभिभावक पार्टी बन्दै छ। इतिहासमा नेतृत्व दिएको कांग्रेस पछिल्ला चार महिना पछारिएको थियो,’ उनले भने, ‘विशेष महाधिवेशनले कांग्रेसभित्रको विकृति अन्त्य गर्ने गरी नीति पास गर्नुपर्छ।’

सिद्धान्त बेच्ने राजनीतिमाथि प्रश्न

नेता देवराज चालिसेले सत्ताका लागि सिद्धान्त बेच्ने राजनीतिले भ्रष्टाचारको सुरुआत भएको बताए। पार्टीको आयु सत्ताभन्दा जनताको मनसँग जोडिएको उनको भनाइ थियो।

उनले भने, ‘विधान लागू गर्दा पार्टी फुट्छ भने त्यो विधान खारेज गर्नुस्, अन्यथा पार्टीको विधान उल्लङ्घन गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई छैन।’

गुटमुक्त कांग्रेसको आह्वान

केन्द्रीय सदस्य पुष्पा भुसालले गुट र कृपाबाट मुक्त कांग्रेस निर्माण गर्नुपर्ने बताइन्। संस्थापन पक्षका ३० केन्द्रीय सदस्यको प्रतिनिधित्व गर्दै बोल्दै उनले सुधारिएको कांग्रेसको अपेक्षा व्यक्त गरिन्।

‘हामी चाहन्छौँ अब नेपाली कांग्रेस गुटबाट मुक्त हुनुपर्छ। नेपाली कांग्रेसको यो कुरुक्षेत्र अब हिंसाबाट मुक्त हुनुपर्छ,’ उनले भनिन्, ‘नेपाली कांग्रेस अब कृपाबाट अलग हुनुपर्छ। हामी गुट चिन्दैनौँ, हामी कृपा मान्दैनौँ। हामी कांग्रेसलाई कमजोर हुन दिन चाहन्नौँ।’

देउवालाई अभिभावकको भूमिका सुझाव

नेता नरहरि आचार्यले सभापति देउवालाई जिम्मेवारी सुम्पेर अभिभावकको भूमिकामा बस्न सुझाव दिए। उनले विशेष महाधिवेशन बोलाउने विधानको प्रावधान पनि स्मरण गराए।

‘कांग्रेसले इतिहासमा भएका उथलपुथलमा सबैभन्दा अगाडि सरेर भूमिका निर्वाह गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेको अर्थात् २०८२ को उथलपुथलमा भने नेपाली कांग्रेस केही अन्योलग्रस्त देखिन्छ।’

यो अन्योलबाट विशेष महाधिवेशनले कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने आचार्यको धारणा थियो।

‘३५ वर्ष बाटो बिरायौँ’

कांग्रेस नेता तथा उद्योगपति विनोद चौधरीले जेन–जी आन्दोलन पछिल्ला ३५ वर्षको पीडा र व्यथाको प्रतिबिम्ब भएको बताए। कांग्रेसले अब बाटो नबिराई आर्थिक र राजनीतिक दुवै क्रान्तिको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो।

‘३५ वर्षसम्म हामीले बाटो बिराएका रहेछौँ,’ उनले भने, ‘अब नेपाली कांग्रेसले बाटो बिराउनु हुँदैन, रूपान्तरित भएर जानुपर्छ।’

साथै, चौधरीले कांग्रेसले देशमा राजनीतिक मात्र नभई आर्थिक क्रान्ति पनि गरेको दाबी गरे। युवाहरूको अवसरका रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्नेमा उनको जोड थियो।

शेखर कोइरालाको सपनाका लागि सहभागिता

नेता केदार कार्कीले डा. शेखर कोइरालाको सपना साकार पार्न विशेष महाधिवेशनमा सहभागी भएको बताए। वर्तमान नेतृत्वले दिएको टिकट नलिने शेखर कोइरालाको अडानप्रति सम्मान व्यक्त गर्दै उनले कांग्रेसमा वैचारिक परिवर्तन आवश्यक रहेको धारणा राखे।

‘डा. शेखरलाई सम्मान गर्न चाहन्छु। उहाँको आवाजलाई साकार गर्न पनि म यहाँ आएको छु,’ उनले भने, ‘किनकि उहाँले भन्नुभयो—अहिलेको नेतृत्वले लिएको टिकट लिन्न।’

विशेष महाधिवेशनको खुला सत्रमा व्यक्त विचारहरूले कांग्रेसभित्रको आन्तरिक बहसलाई थप तीव्र बनाएको छ। अब सबैको ध्यान बन्दसत्र र त्यसले दिने राजनीतिक सन्देशतर्फ केन्द्रित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *