ट्राफिक प्रहरी र नाइमाबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, २९ पुसः नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका एक हजार ६५१ ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।
नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्याससम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको छ ।
ट्राफिक सप्ताह २०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ समुद्घाटन कार्यक्रमका अवसरमा हस्ताक्षरित उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक दानबहादुर कार्की र एशोसिएसनका बोर्ड सदस्य सौरभ ज्योतिबीच समझदारीपत्र आदानप्रदान भएको हो । समझदारीअनुसार एशोसिएसनका आफ्ना सदस्य कम्पनीको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी÷यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ ।
यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ । समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम आगामी माघ ४ गते आइतबारदेखि सुरु हुनेछ । तालिम १७ दिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ ।
तालिममा तनाव व्यवस्थापन÷ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारीसाधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्याण्ड–जेस्चर सीपलगायत विषय समेटिएका छन् ।
