`

समानुपातिकको बन्दसूचीबाट १६४ जनाको नाम फिर्ता, सर्वाधिक लोसपाबाट ७८ जना

Nepal One HD २९ पुष २०८२ १३:५३
निर्वाचन विषेश

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको बन्दसूचीबाट १६४ जनाले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (नेपाल), जनमत पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायत दलबाट बन्दसूचीमा परेका उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।

एमालेबाट नाम फिर्ता लिनेमा खस आर्यतर्फ ठाकुरप्रसाद शर्मा र लालबहादुर रावल, आदिवासी जनजातितर्फ विजयसिंह लामा र हिरुसरा राना तथा मधेशीतर्फ अंशु सिंह रहेका छन् ।

नेपाली कांग्रेसबाट खस आर्यतर्फ ध्रुवबहादुर मल्ल र सृजना मल्ल छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मधेशीतर्फ अरविन्द दास र कमलराय यादवले बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दर्ता गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भने सुनिता न्हेमाफुकीले निवेदन दर्ता गराइन् । यसअघि नै रास्वपाबाट १० भन्दा बढी नेताले समानुपातिक सूचीबाट नाम फिर्ता लिएका थिए ।

नाम फिताए लिएकाहरूको ठाउँमा अर्कोे नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई निर्देशन दिएको छ ।

आयोगका अनुसार सर्वाधिक ७८ जनाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उम्मेदवारी फिर्ता लिएका छन् । त्यसपछि जसपा नेपालबा २१ जनाले उम्मेदवारी फिर्ता लिए । यी दुइ दलबीच हालै एकता भइसकेको छ । त्यही भएर लोसपाका तर्फबाट परेका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।

सीके राउतको दल जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ता लिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, राष्ट्र निर्माण दल नेपालका ४ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।

उन्‍नत लोकतान्त्रिक पार्टीका २ जना, गतिशील लोकतान्त्रिक पार्टीका १ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना, नेपाल जनता पार्टीका १ जना, प्रगतिशील लोकतान्त्रिक पार्टीका १ जना, संघीय लोकतान्त्रिक पार्टीका १ जना र संयुक्त नागरिक पार्टीका १ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

अब आयोगले आगामी माघ ४ गते बन्दसूचीको नामावली फेरि प्रकाशित गर्नेछ । प्रकाशित नामउपर दाबी विरोधका लागि माघ ५ गते देखि माघ १० गतेसम्मको समय रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *