`

धरानका ‘भाइरल वडाअध्यक्ष’ भट्टराईं चुनावी मैदानमा, नेकपाबाट बने उम्मेदवार

Nepal One HD ४ माघ २०८२ ११:१०
निर्वाचन विषेश

विराटनगर । धरान उपमहानगरपालिकाको राजनीतिमा नयाँ मोड आएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुनसरी क्षेत्र नम्बर १ बाट सूर्यकुमार भट्टराई (मनोज भट्टराई) लाई उम्मेदवार बनाउने निर्णय गरेसँगै धरानको चुनावी प्रतिष्पर्धा थप चर्किने संकेत देखिएको छ ।

भट्टराई धरान उपमहानगरपालिका–१७ का वर्तमान वडाअध्यक्ष हुन् । वडाअध्यक्षको हैसियतमा रहँदा उनले धरानका मेयर हर्क साम्पाङको कार्यशैलीमाथि खुलेर प्रश्न उठाउँदै आएका थिए । कार्यपालिका बैठकहरूमा तथ्यसहित आलोचना प्रस्तुत गर्ने भट्टराईको शैलीका कारण उनी सामाजिक सञ्जालमा ‘भाइरल वडाअध्यक्ष’ का रूपमा चिनिन पुगेका छन् ।

स्थानीय सरकारभित्रैबाट मेयर साम्पाङको निर्णय प्रक्रिया, कार्यान्वयन र प्राथमिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका भट्टराई राजनीतिक रूपमा स्पष्ट र आक्रामक नेताको छवि बनाउन सफल भएका छन् । उनी यसअघि माओवादी केन्द्र धरान नगर कमिटीका अध्यक्ष समेत रहिसकेका छन्, जसले उनको राजनीतिक अनुभवलाई थप मजबुत बनाएको देखिन्छ । यता, सुनसरी क्षेत्र नम्बर १ बाट धरानका मेयर हर्क साम्पाङले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यस पटक भने उनी ‘श्रम संस्कृति पार्टी’ गठन गरी चुनावी मैदानमा उत्रँदै छन् । साम्पाङ यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयरमा निर्वाचित भएका थिए । एकातर्फ स्वतन्त्र छविबाट उदाएका मेयर साम्पाङ र अर्कोतर्फ पार्टी संरचनाबाट अघि बढिरहेका ‘भाइरल’ वडाअध्यक्ष भट्टराईंबीचको प्रतिष्पर्धाले सुनसरी–१ को चुनावलाई रोचक मात्र होइन, अर्थपूर्ण राजनीतिक बहसको केन्द्र बनाउने अपेक्षा गरिएको छ ।

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *