कञ्चनपुर–२ मा नेकपाबाट दुई उम्मेदवार, कार्यकर्ता अन्योलमा
कैलाली । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दुई जनालाई उम्मेदवारको टिकट दिएको घटनाले पार्टीभित्र अन्योल र चर्चा चुलिएको छ । साविक नेकपा एकीकृत समाजवादीको भागमा परेको कञ्चनपुर–२ मा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा तत्कालीन प्रदेश अध्यक्ष लालबहादुर खड्काले यसअघि नै प्रतिनिधि सभाको उम्मेदवारको टिकट पाइसकेका थिए ।
खड्का अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भई सामाजिक विकास मन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन् । गठबन्धनको भागबण्डाअनुसार साबिक माओवादी केन्द्रले कञ्चनपुर–१ मा विना मगर र ३ मा मानबहादुर सुनारलाई टिकट दिएको अवस्थामा क्षेत्र नम्बर–२ साबिक एकीकृत समाजवादीको भागमा परेपछि खड्कालाई उम्मेदवार बनाइएको थियो ।
तर सोमबार बिहान सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । उक्त भिडिओमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले साबिक एकीकृत समाजवादीकै नेता माधव पन्तलाई उम्मेदवारको टिकट दिँदै शुभकामना व्यक्त गरिरहेको देखिन्छ । प्रचण्डले पन्तलाई ‘युवा बुद्धिजीवी र युवा नेता’ भन्दै कञ्चनपुर–२ बाट विजयी भएर संसदमा आउने विश्वास व्यक्त गरेका छन्। माधव नेपालले पनि पन्तलाई बधाई दिएका छन् ।
पन्तले आफूले टिकट पाएको भिडिओ सार्वजनिक गरेलगत्तै खड्का पक्षले भने प्रचण्डको हस्ताक्षरसहितको उम्मेदवारी पत्र सार्वजनिक गरेको छ । यसरी एउटै निर्वाचन क्षेत्रमा एउटै पार्टीबाट दुई जनाले टिकट पाएको दाबी गरेपछि नेकपाका नेता तथा कार्यकर्ता अन्योलमा परेका छन् ।
नेकपा सुदूरपश्चिमका एक नेताका अनुसार पछिल्लो समयसम्म खड्कालाई नै आधिकारिक उम्मेदवारका रूपमा बुझिँदै आएको थियो । ‘हिजोसम्म उहाँ नै उम्मेदवार हुनुहुन्थ्यो, टिकट पनि उहाँकै नाममा छ’, ती नेताले भने, ‘तर आज अर्का नेताले पनि टिकट पाएको देखिएपछि कार्यकर्तामा अन्योल स्वाभाविक हो। अब आधिकारिक उम्मेदवार को हुने भन्ने विषय केन्द्रले नै टुंग्याउनेछ ।’ कञ्चनपुर–२ मा देखिएको यो टिकट विवादले नेकपाभित्र आन्तरिक समन्वय र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ । पार्टी केन्द्रले चाँडै स्पष्ट निर्णय नगरेमा स्थानीय तहमा यसको असर चुनावी तयारीमै पर्न सक्ने देखिन्छ ।
