नेकपाभित्र तीव्र असन्तुष्टि : दाङ र सिन्धुलीमा केन्द्रको निर्णयविरुद्ध बागी उम्मेदवारी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र उम्मेदवार चयनलाई लिएर असन्तुष्टि चर्किदै जाँदा दाङ र सिन्धुलीमा केन्द्रीय नेतृत्वको निर्णयविरुद्ध बागी उम्मेदवारी दर्ता भएको छ । दुवै जिल्लामा स्थानीय तहका नेता तथा कार्यकर्ताले केन्द्रले गरेको टिकट वितरणप्रति आपत्ति जनाउँदै स्वतन्त्र तथा वैकल्पिक उम्मेदवार अघि सारेका हुन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा नेता कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका केसीले आफ्नै पार्टीविरुद्ध बागी कदम चालेका हुन् । केसीको उम्मेदवारीसँगै दाङ–१ मा नेकपाभित्र आन्तरिक विभाजन सतहमा आएको छ । स्थानीय राजनीतिक विश्लेषकका अनुसार प्रभावशाली नेताको बागी उम्मेदवारीले आधिकारिक उम्मेदवार चौधरीलाई चुनावी प्रतिष्पर्धामा चुनौती थपिने देखिन्छ ।
यसैगरी सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा पनि नेकपाको केन्द्रीय निर्णयविरुद्ध जिल्ला पार्टी खुलेरै विद्रोहमा उत्रिएको छ । केन्द्रले लेखनाथ दाहाललाई टिकट दिएपछि जिल्ला पार्टीको निर्णयअनुसार वरिष्ठ पत्रकार तथा नेकपा नेता महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका क्रममा पार्टीका जिल्ला स्तरका नेताहरू हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन र विनोद विकलगायतको उपस्थिति रहेको थियो ।
जिल्ला उम्मेदवार सिफारिस कार्यदलको निर्णयलाई बेवास्ता गर्दै केन्द्रबाट टिकट वितरण गरिएको भन्दै जिल्ला पार्टीले महेश्वर दाहाललाई आफ्नो आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको हो । माओवादी जनयुद्धमा संलग्न रहेका दाहाल तत्कालीन क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष समेत हुन् । दाङ र सिन्धुली दुवै घटनाले नेकपाभित्र उम्मेदवार चयन प्रक्रिया र केन्द्र–जिल्ला समन्वयमाथि गम्भीर प्रश्न उठाएको छ । चुनाव नजिकिँदै गर्दा देखिएको यो असन्तुष्टिले पार्टीको समग्र चुनावी रणनीतिमा कस्तो प्रभाव पार्ने हो भन्ने चासो बढेको छ ।
