`

देश चलाउन विदेशी शक्ति सक्रिय, नयाँ आन्दोलनमा जानु पर्ने हुनसक्छ : प्रचण्ड

Nepal One HD ७ माघ २०८२ १४:१२
प्रमुख खबर

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश असाधारण राजनीतिक अवस्थाबाट गुज्रिरहेको भन्दै विदेशी शक्तिको चलखेलविरुद्ध आवश्यक परे नयाँ आन्दोलन सुरु गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रको स्वाधीनता, जनताको आत्मनिर्णयको अधिकार र राजनीतिक स्थायित्वमाथि प्रश्न उठाउने प्रयास भइरहेको दाबी गरे ।

प्रचण्डका अनुसार हाल देश चलाउने प्रक्रियामा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय छन् । ती शक्तिहरूको प्रतिवाद शान्तिपूर्ण तर दृढ अठोटका साथ गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘जरुरी पर्‍यो भने राष्ट्र र जनताको पक्षमा नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन अघि बढाउनु पर्ने हुनसक्छ’, उनले भने, ‘भदौ २४ गते देखिएको जस्तो विध्वंसात्मक गतिविधिको जरो अझै सकिएको छैन ।’

आफू पुनः जनयुद्धको आधारभूमि मानिने रुकुम फर्किनुको अर्थ केवल विकासका योजना घोषणा गर्नु मात्र नभई समग्र देशलाई राजनीतिक निकासतर्फ लैजानु भएको प्रचण्डले स्पष्ट पारे । उनले आफ्नो उम्मेदवारी संसद् प्रवेशका लागि मात्र नभई देशलाई नयाँ राजनीतिक दिशातर्फ डोर्‍याउने उद्देश्यसहित रहेको दाबी गरे ।

विकासको सवालमा प्रचण्डले दाङ–रोल्पा–रुकुम पूर्व हुँदै डोल्पाको सहरतारा जोड्ने र त्यसलाई चीनसम्मको व्यापारिक मार्गका रूपमा विकास गर्ने योजना सुनाए । रुकुम पूर्व अब हिमाली जिल्ला भइसकेकाले यसलाई ‘विशेष स्वायत्त प्रदेश’ बनाउने पहल गरिने र जिल्लालाई विकासको नयाँ मोडलमा अघि बढाइने उनको प्रतिबद्धता छ । ‘म जहाँबाट लडेको छु, त्यहींको मुहार फेरेको छु’, भन्दै प्रचण्डले आलोचकहरूलाई कामबाटै जवाफ दिने बताए । रुकुम पूर्वमा सुन्दर सहर निर्माण, ग्रामीण सडक स्तरोन्नति र समग्र पूर्वाधार विकाससँगै यो क्षेत्रलाई समाजवादतर्फको यात्राको नेतृत्व गर्ने केन्द्र बनाउने उनको धारणा छ ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्दै प्रचण्डले जेनजी भदौ २४ को आन्दोलनपछि सिर्जित परिस्थितिमा भदौ २६ गते रातभरको छलफलपछि संसद् विघटन गरी चुनावमा जाने निर्णय गरिएको जानकारी दिए । ‘देशलाई ठूलो दुर्घटनाबाट जोगाउन र ताजा जनादेशमार्फत निकास निकाल्न त्यो निर्णय अनिवार्य थियो’, उनले भने । माओवादी सशस्त्र युद्धकालमा चुनबाङ बैठकले शान्ति प्रक्रियाको ढोका खोलेको स्मरण गर्दै प्रचण्डले अब रुकुम पूर्वले समाजवादको यात्रामा नयाँ दिशा दिने विश्वास व्यक्त गरे । देश अब चुनावमय भइसकेको उल्लेख गर्दै उनले राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउनकै लागि नेकपा निर्माण गरिएको पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *