खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार हो – प्रदेश प्रमुख भट्ट
कास्की। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेल क्षेत्रको विकासबाट राष्ट्रको समग्र विकासको महत्त्वपूर्ण आधार हुने बताउनुभएको छ ।
पोखरामा आजदेखि सुरु भएको ‘टाइगर कप’ राष्ट्रिय÷अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताउनुभयो ।
“खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार हो । खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्ने छ । खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्न सकिन्छ । नेपाल खेलकुदको माध्यमबाट समेत चिनिँदै आएको छ । सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरूलाई खेलकै माध्यमबाट पराजित गर्न सकेका छौँ”, प्रदेश प्रमुखले भन्नुभयो ।
खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहेको उहाँको भनाइ छ ।
सानो स्थान, थोरै बजेट, सबै नेपालीको पहुँच, धेरैलाई मनपर्ने र मुलुकको भौगोलिक अवस्थाका कारण पनि भलिबल राष्ट्रिय खेल बन्न पुगेको बताउनुहुँदै उहाँले सीमित पूर्वाधार र सुविधाका बाबजुद अन्तरराष्ट्रियस्तरमा नेपाली महिला भलिबल टोलीले प्राप्त गरेको नतिजा प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एसियन सेन्ट्रल जोन भलिबलको उपाधि लगातार जितेर नेपाली महिला भलिबल खेलाडीले नेपालको नाम चम्काएको म स्मरण गर्न चाहन्छु ।”
भलिबलको भौतिक संरचना तथा पूर्वाधार कमजोर भए पनि यस्ता प्रतियोगिताका कारण खेलाडीलाई फाइदा पुर्याएको उहाँको भनाइ छ । जिल्ला तथा केन्द्रीयस्तरका प्रतियोगिताले खेलाडीलाई खेल कौशल प्रदर्शन तथा आर्थिक उपार्जनमा योगदान भएको भट्टले बताउनुभयो ।
टाइगर ग्रुप अफ पोखराले विगत छ वर्षदेखि भव्य र व्यवस्थित ढङ्गले अन्तरराष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी भलिबल खेलमार्फत पोखरा र गण्डकी प्रदेशमात्र नभई नेपाललाई नै चिनाउन महत्त्वपूर्ण भूमिका खेलेकामा धन्यवाद पनि व्यक्त गर्नुभयो ।
नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले टाइगर ग्रुपले आयोजना गरेको प्रतियोगिताले नेपाली भलिबल खेलको विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताउनुभयो । “नेपालको राष्ट्रिय खेल भलिबल विकासका लागि आफ्नै कभर्डहल निर्माण गर्नका साथै सातै प्रदेशमा प्रदेशस्तरीय खेलमैदान निर्माणका लागि सङ्घले पहल गरिरहेको छ”, उहाँले भन्नुभयो ।
टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले मुलुकको विषम परिस्थितिमा समेत आफूहरूले यो प्रतियोगितालाई निरन्तरता दिँदै भलिबल खेलमार्फत पोखरालाई विश्वसामु चिनाउन पहल गरेको बताउनुभयो ।
“छैटौँ संस्करणमा आइपुग्दा टाइगर कप ब्राण्ड बनेको छ । यो ब्राण्डको रुपमा स्थापित गर्न भूमिका खेल्ने सबैमा म संस्थाको तर्फबाट आभार व्यक्त गर्दछु”, शर्माले भन्नुभयो ।
यही माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब र थाइल्याण्ड क्विन्स थाइल्याण्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी, पुरुषतर्फ विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा पर्वत जिल्ला भलिबल सङ्घ र माल्दिभस भलिबल एसोसिएसनले उपाधिका लागि भिड्ने छ ।
