कार्यकर्ता फकाएर काठमाडौं फर्के ओली, पूर्वी पहाड घुम्दै ओलीको जन्मथलोमा बालेन
काठमाडौं । झापा क्षेत्र नम्बर ५ को राजनीतिक मैदान तातिएको छ । एकातिर आफ्नै कार्यकर्ताको असन्तुष्टि साम्य पार्न एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्लामै ‘फायर फाइटिङ’ मा देखिएका छन् भने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साह (बालेन) धार्मिक यात्रा, सडक यात्रा र प्रतीकात्मक उपस्थितिमार्फत मतदातासम्म पुग्ने रणनीतिमा छन् ।
ओली : ‘कन्फर्ट जोन’ बाहिरको चुनाव
२०७४ मा ‘रतुवाको पाता कस्छु’ भन्ने एक वाक्यले चुनाव जितेका ओलीका लागि झापा–५ यस पटक सहज देखिएको छैन । रतुवा खोलामा पुल बनेपछि पुरानो चुनावी मुद्दा त सकियो, तर नयाँ चुनौती आफ्नै पार्टीभित्र देखिएको छ ।
माघ ५ गते चन्द्रगढी विमानस्थल हुँदै झापा पुगेका ओली आन्दोलनका क्रममा आगजनी भएपछि आफ्नो पुरानो निवासमा नबसी होटलबाटै कार्यक्रम सञ्चालन गर्न बाध्य भए । पत्नी राधिका शाक्यसहित आएका उनले उम्मेदवारी मनोनयनपछि अधिकांश समय वडा कमिटी, जनवर्गीय संगठन र स्थानीय कार्यकर्तासँग बिताए ।
दमक नगरपालिका, कमल गाउँपालिका, गौरादहका–८ र गौरीगञ्जका चार वडा समेटिएको क्षेत्रका २९ वटै वडा कमिटीसँग छलफल गर्दा कार्यकर्ताको स्वर एउटै थियो–नेताहरू गाउँ आउँदैनन्, अध्यक्ष घेराबन्दीमा पर्नु भएको छ ।
गौरादह–२ का वडा अध्यक्ष योगेन्द्र भण्डारीले ‘अघिल्ला चुनावभन्दा अवस्था कठिन भएको’ संकेत गरे भने वडा–८ का खेमराज अधिकारीले अध्यक्ष सीमित नेताको वरिपरि मात्र घुमिरहेको गुनासो राखे । ‘फोटो खिचेर फर्किने नेताले होइन, गाउँमा बसेर जवाफ दिने नेता चाहिएको छ’, उनको भनाइ थियो । युवा संघमा देखिएको असन्तोषले ओलीलाई थप दबाबमा पारेको छ । दमकका युवा संघ अध्यक्षले पार्टी छाड्दा, कमल गाउँपालिकामा पनि संगठनात्मक समस्या देखियो ।
‘दैनिक २ हजार ५ सय मान्छे भेट्छु’
आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले कार्यकर्तालाई आफ्ना सीमितता सुनाए । ‘दैनिक २ हजार ५ सय मान्छे भेट्नु पर्छ, तपाईंहरूसँग भेट भयो तर बात मार्न पाइनँ’, उनले महारानीझोडामा भने । भूगोलमा नआउने नेताको नाम खुलस्त भन्न कार्यकर्तालाई आग्रह गर्दै ओलीले ढोका बन्द गरेर भए पनि कुरा गर्न निर्देशन दिए । उनले राष्ट्रिय राजनीतितर्फ मोडिँदै यो चुनावलाई ‘देश बचाउने र देश जलाउनेबीचको लडाइँ’ को संज्ञा दिए ।
बालेन : यात्रामार्फत सन्देश
झापा–५ मा अर्का दाबेदार बालेन्द्र हाह भने फरक शैलीमा मैदानमा उत्रिएका छन् । उम्मेदवारी मनोनयनपछि पूर्वी पहाड केन्द्रित यात्रामा निस्किएका बालेन पाथिभरा दर्शनपछि तेह्रथुमको म्याङलुङ आइपुगेका छन् ।
बालेनलाई रास्वपाका स्थानीय नेता–कार्यकर्ताले म्याङलुङ नगरपालिका–१ मा स्वागत गरे । उनी त्यहाँ ब्लु हेबन होटलमा बास बसेका छन् । इलाम, फिदिम, ताप्लेजुङ हुँदै अघि बढेको यो यात्रालाई रास्वपाले ‘जनतासँग प्रत्यक्ष जोडिने अभियान’ को रूपमा प्रचार गरेको छ । भोलि धनकुटा हुँदै दमक पुगेर घरदैलो अभियान सुरु गर्ने कार्यतालिका छ ।
झापा–५ मा चुनावी कथा बदलिँदै
एकातिर लामो समयदेखि सत्ताको केन्द्रमा रहेका ओली संगठन जोगाउने र कार्यकर्ताको भरोसा फर्काउने संघर्षमा छन् । अर्कोतिर बालेन पुराना संरचनाभन्दा बाहिरको प्रतीकात्मक राजनीति र यात्रामार्फत नयाँ मतदाता तान्ने प्रयासमा छन् । झापा–५ को यो चुनाव अब पुल, सडक र बजेटको मात्र होइन–नेतृत्वको पहुँच, संगठनको भरोसा र राजनीतिक शैलीको टकराव बनेको छ ।
