बागीविरुद्ध कठोर प्रचण्ड : हरिबोल, कुलप्रसाद, धर्मनाथदेखि महेश्वरसम्म नेकपाबाट निष्कासित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेता, समर्थक र प्रस्तावविरुद्ध निर्मम कदम चालेको छ ।
देशको विभिन्न ठाउँमा नेकपाको आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका असन्तुष्ट नेताहरूले बागी उम्मेदवारी दिएका थिए ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बागी उम्मेदवार, तिनका समर्थक र प्रस्तावलाई पछि हट्न निर्देशन दिएका थिए । तर, धेरै ठाउँमा निर्देशन टेरेनन् । नटेरेका नेताहरूलाई शनिबार प्रचण्डले पार्टीबाटै निष्कासन गरेका छन् ।
त्यसरी निष्कासन गरिएका शीर्षस्थ नेता हरिबोल गजुरल हुन् । उनीसँगै नेता महेश्वर दाहाललाई पार्टीबाट प्रचण्डले शनिबार निष्कासन गरे ।
पार्टीको निर्णयविपरित सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि उनीहरू कारबाहीमा परेका हुन् ।
महेश्वर आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली–२ बाट टिकटका आकांक्षी थिए । तर, प्रचण्डले पूर्वसांसद लेखनाथ दाहाल ‘राजन’लाई टिकट दिए । टिकट नपाएपछि महेश्वरले भने बागी उम्मेदवारी दिए ।
महेश्वरलाई समर्थन नेता हरिबोल गजुरेलको छ । यसपछि प्रचण्डले अनुशासनको कारवाही गर्दै पार्टीबाट निष्कासन गरेका हुन् । गजुरेल पटकपटक मन्त्री भएका नेता हुन् ।
कारबाहीपछि महेश्वर दाहालले एक अपिल जारी गर्दै भनेका छन्, – ‘उम्मेदवारी बार्गेनिङ र पद हत्याउन होइन, पद्धतिविहीन र पथभ्रष्ट भएको राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वविरुद्धको बगावत’ हो ।
प्रचण्डले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कुलप्रसाद केसी ‘सोनाम’ले पनि पार्टीबाट निष्कासन गरिदिएका छन् । केसी दाङ–१ मा नेकपाको आधिकारिक उम्मेदवार मेटमणि चौधरीविरुद्ध प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवार थिए ।
केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न प्रचण्डले निर्देशन दिएका थिए । तर, उनले मानेनन् । त्यसपछि प्रचण्डले पार्टीबाटै हटाइदिएका हुन् ।
केसी विगतमा प्रचण्डका विश्वास पात्र थिए । १० वर्षे माओवादी युद्धमा उनी प्रचण्डसँगै थिए ।तर, यसपटक पार्टीको आधिकारिक उम्मेदवार मेटमणिविरुद्ध आँप चिह्न लिएर चुनावमा उत्रिँदा प्रचण्डले कारबाहीको डण्डा चलाइदिए ।
बागी उम्मेदवारी दिँँदा नेकपाले हटाएकामा पूर्वमन्त्री धर्मनाथप्रसाद शाह पनि हुन् । उनी माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा एकीकृत समाजवादीको मधेस प्रदेश इञ्चार्ज थिए । उनी सिरहा–४ मा नेकपाबाट टिकट लिएर चुनाव लड्न चाहन्थे ।
तर, पूर्वसञ्चारमन्त्री अजयशंकर नायकले टिकट पाए । त्यसपछि असन्तुष्ट साह एमालेबाट उम्मेदवार बने । शनिबार प्रचण्डले उनलाई पार्टीबाटै हटाइदिए ।
त्यसरी हटाइनेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका पूर्वअध्यक्ष मेजर राई, राजकुमारी साह र जिवछ साहलगायत पनि छन् ।
पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कार अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ ।
