सरकारमा सहभागिताबारे उठेका विवादप्रति कुलमान घिसिङको स्पष्टोक्ति
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा आफ्नो सहभागितालाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
घिसिङले आन्दोलनपछिको विषम परिस्थितिमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की तथा जेन–जी आन्दोलनका अगुवाहरूको अनुरोधमा आफू सरकारमा सहभागी भएको स्पष्ट पारेका छन् ।
सरकारमा सहभागी हुने बेलामै भविष्यमा राजनीतिमा जाने सोच रहेको र गैरदलीय सरकार भएकाले आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने कुरा प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको उनको भनाइ छ ।
तर तत्कालीन अवस्थामा आफ्नो सहभागिता आवश्यक रहेको, जेन–जी आन्दोलनका अगुवाहरूको समेत यही माग रहेको र पछि राजनीतिमा जानुपरेमा राजीनामा दिएर जान सकिने प्रधानमन्त्रीको आग्रहपछि आफूले जिम्मेवारी स्वीकार गरेको घिसिङले बताएका छन् ।
यस विषयमा प्रधानमन्त्री स्वयंले सार्वजनिक रूपमा समेत उल्लेख गर्दै आएको उनले स्मरण गराएका छन् ।
आन्दोलनपछि राज्य संरचना प्रायः शून्यताजस्तो अवस्थामा पुगेको बेला चुनौती स्वीकार गर्दै आफूले जिम्मेवारी सम्हालेको उल्लेख गर्दै घिसिङले राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको तथ्य सर्वविदित रहेको बताएका छन् ।
‘म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ,’ घिसिङले भनेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ११५ दिनको अवधिमा भएका कामकारबाहीहरूले आफ्नो जिम्मेवारीबोध पुष्टि गर्ने उनको दाबी छ ।
घिसिङले आफ्नो विरुद्ध नियोजित रूपमा बदनाम गराउने उद्देश्यले भ्रमपूर्ण प्रचार र टिकाटिप्पणी भइरहेको भन्दै त्यसबाट प्रभावित नहुन सबैमा आग्रह गरेका छन् ।
साथै उज्यालो नेपाल निर्माणका लागि आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
