कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च
कर्णाली। कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा छात्राको विद्यालय छोड्ने दर उच्च देखाएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
राष्ट्रिय तथ्याङक कार्यालय सामाजिक तथ्याङ्क महाशाखाका निर्देशक राजन सिलवालले आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कअनुसार कर्णालीमा १८–१९ वर्ष उमेरका छात्राले विद्यालय छोड्ने गरेका बताउनुभयो । उहाँका अनुसार यसरी पढ्ने उमेरमै विद्यालय छाड्ने छात्राहरू करिब १९ प्रतिशत छन् ।
उहाँका अनुसार यो दर राष्ट्रि«य औसतभन्दा उच्च हो । “छात्रको तुलनामा छात्राहरू विद्यालयबाहिर रहनुको पहिलो कारण बालविवाह (छिटो विवाह) हो”, उहाँले भन्नुभयो, “त्यसपछि आर्थिक अभाव, उच्च शिक्षाको पहुँच नहुनु, पारिवारिक दायित्व र भौगोलिक बनोट पनि सम्भाव्य कारणहरू हुन् ।”
महाशाखाका निर्देशक सिलवालका अनुसार ५–९ र १०–१४ वर्ष उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थित हुने दर ९१ प्रतिशत छ । समग्रमा उमेर र तह बढ्दै जाँदा विद्यालय÷क्याम्पस छोड्ने दर पनि बढ्दै गएको उहाँले बताउनुभयो । यसले कर्णालीको शैक्षिक पहुँच र पूर्वाधारको अवस्था कमजोर छ भन्ने स्पष्ट पार्ने उहाँको भनाइ छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उपनिर्देशक एवं तथ्याङ्क अधिकारी डा शरद्कुमार शर्माले राष्ट्रियस्तरमा पाँच दशमवल ११ प्रतिशत बालबालिका कहिल्यै पनि विद्यालय नजाने तथ्याङ्क रहेको जानकारी दिनुभयो । उहाँका अनुसार अनुपातका हिसाबले राष्ट्रिय औसतभन्दा तीन गुणा बढी मधेसमा १३ दशमलव ६१ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् ।
त्यस्तै, लुम्बिनीमा तीन दशमलव ५०, कोशीमा दुई दशमलव ८६, कर्णालीमा दुई दशमलव ५६, सुदूरपश्चिममा दुई दशमलव ५१ र बागमतीमा एक दशमलव ६४ प्रतिशत बालबालिका विद्यालय रहेका उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा सबैभन्दा कम एक दशमलव शून्य दुई प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका उपनिर्देशक डा शर्माले बताउनुभयो ।
