`

गजुरेलमाथिको कारवाही फिर्ता नभए नेकपा एकीकरण जोखिममा : खनाल

Nepal One HD १२ माघ २०८२ ८:४१
प्रमुख खबर

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक असन्तुष्टि सतहमा देखिन थालेको छ । सिन्धुलीमा बागी उम्मेदवारलाई समर्थन गरेको आरोपमा कारबाहीमा परेका नेता हरिबोल गजुरेलको विषयलाई लिएर पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि प्रत्यक्ष दबाब बढाएका छन् ।

सामाजिक सञ्जाल मेटामार्फत धारणा सार्वजनिक गर्दै खनालले गजुरेलमाथि गरिएको कारबाही तत्काल फिर्ता नलिए पार्टी एकीकरण नै जोखिममा पर्ने चेतावनी दिएका छन्। उनले पार्टीमा संस्थागत निर्णय प्रक्रिया कमजोर बन्दै गएको र केही व्यक्तिको इच्छाअनुसार महत्त्वपूर्ण निर्णय लिइनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

खनालले वरिष्ठ नेतामाथि स्पष्टीकरणको अवसर समेत नदिई गरिएको निष्कासनलाई अस्वाभाविक र अस्वीकार्य भनेका छन् । विभिन्न घटकबाट आएका नेताहरूलाई जानकारी नदिई सञ्चारमाध्यमबाट मात्र निर्णय सार्वजनिक हुनु पार्टी संस्कारविपरीत भएको उनको भनाइ छ ।

उनले आमनिर्वाचन २०८२ नजिकिँदै गर्दा मुलुक भित्री र बाहिरी प्रतिक्रियावादी षड्यन्त्रको सामना गरिरहेको स्मरण गराउँदै यस्तो संवेदनशील समयमा कम्युनिष्ट शक्तिहरूबीच नीतिनिष्ठ र दृढ एकता अपरिहार्य रहेको बताएका छन् । तर, एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि नेकपाभित्र नेतृत्वदायी कमिटी र संस्थागत निर्णय प्रणाली विकसित हुन नसक्नु दुःखद रहेको उनको टिप्पणी छ ।

खनालले नेकपालाई सच्चा कम्युनिष्ट पार्टी बनाउन अधिनायकवादी शैली त्यागेर सामूहिक नेतृत्व र निर्णय प्रणाली स्थापित गर्न आग्रह गरेका छन् । त्यसका लागि गजुरेलमाथिको कारबाही अविलम्ब स्थगित गर्न, नेतृत्व तहका नेताहरूको आकस्मिक बैठक बोलाउन र घटनाक्रमबारे गम्भीर आन्तरिक समीक्षा गर्न उनले प्रचण्डसँग जोडदार माग गरेका छन् । अन्यथा, पार्टी एकीकरणको प्रक्रिया टुंगिन नपाउँदै नेकपा बिखण्डनतर्फ जाने खतरा बढ्ने खनालको चेतावनी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *