`

उत्तेजनाको राजनीतिमा विश्वास गर्दिनँ, मधेसलाई काठमाडौंसँग जोड्छु : गगन थापा (भिडियो)

Nepal One HD १२ माघ २०८२ १४:३८
निर्वाचन विषेश

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधि सभा सदस्य गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दिएसँगै राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ । तीन पटक काठमाडौँ–४ बाट निर्वाचित भइसकेका थापाले यस पटक मधेस झर्ने निर्णयलाई केवल निर्वाचन रणनीति नभई ‘देश जोड्ने राजनीतिक यात्रा’ का रूपमा व्याख्या गरेका छन् ।

सर्लाही प्रस्थान गर्नुअघि सोमबार भिडियो सन्देशमार्फत काठमाडौं–४ का मतदातालाई धन्यवाद दिँदै थापाले आफूले सधैं परिवार जस्तै माया पाएको क्षेत्र छोड्नु सजिलो निर्णय नभएको बताए । ‘मैले जीवनका महत्वपूर्ण चरणहरू यही क्षेत्रमा बिताएँ । यहाँका मतदाताबाट पाएको विश्वास र माया मेरो लागि अमूल्य छ’, उनले भने । थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएपछि सोमबार नै सर्लाही पुगेर चुनावी गतिविधि सुरु गरेका छन् ।

सर्लाही पुगेकै दिन सार्वजनिक भिडियो सन्देशमा उनले मधेससँगको सम्बन्ध औपचारिकतामा सीमित नराख्ने स्पष्ट पारे । ‘म मधेस जाँदैछु, किनकी म देश जोड्न चाहन्छु’, भन्दै उनले पहाड, काठमाडौँ र मधेसलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्ने आकांक्षा व्यक्त गरे । उनका अनुसार कांग्रेसका धेरै नेता तथा कार्यकर्ताले काठमाडौँ नछोड्न सुझाव दिएका थिए । सभापति भइसकेपछि निर्वाचन क्षेत्र परिवर्तन गर्नु उपयुक्त नहुने धारणा पनि आएको उनले स्वीकार गरे । तर, मधेससँगको सम्बन्ध अझ गहिरो बनाउनु राजनीतिक र राष्ट्रिय आवश्यकता भएको थापाको भनाइ छ ।

‘पहाडबाट झरेको मेरो परिवार, काठमाडौँमा हुर्किएको म, अब सिंगो देशको हुनुपर्छ’, उनले भने, ‘त्यसका लागि मधेसको माटो ढोग्नुपर्छ, त्यहीँ टेक्नुपर्छ, आशीर्वाद लिनुपर्छ र त्यहीभित्र लडिबुडी गर्नुपर्छ भन्ने लाग्यो ।’ थापाले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने पनि दोहोर्‍याए । अधिकारको कुरा गर्दा विभाजन होइन, एकताको बाटो खोज्नु पर्ने उनको धारणा छ । मधेसका मुद्दा काठमाडौँमा सशक्त रूपमा उठाउने र काठमाडौँका सवाल मधेसमा स्पष्ट रूपमा राख्ने पुलको भूमिका निर्वाह गर्न चाहेको उनले बताए ।

‘मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका समस्या बुझ्दा, त्यो केवल मधेसको मात्रै होइन, सिंगो नेपालको समाधानतर्फको बाटो हुन सक्छ’, थापाले भने । मधेससँग चुनावी सम्बन्ध गाँसेर त्यस क्षेत्रलाई नजिकबाट बुझ्ने र राष्ट्रिय राजनीतिको केन्द्रसँग जोड्ने उनको उद्देश्य रहेको प्रष्ट देखिन्छ । काठमाडौँ–४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै थापाले आफू जहाँ रहे पनि त्यो सम्बन्ध भावनात्मक रूपमा कायम रहने बताए । सर्लाही–४ बाट उनको उम्मेदवारीलाई कांग्रेसभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा ‘भूगोलभन्दा माथि उठेर देश सोच्ने प्रयास’ का रूपमा हेरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *