प्रचण्डले विप्लवलाई भने–यताउता नभौंतारिनुस्, एकतामा आउनुस्
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । बुधवार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताए । उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे ।
समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै उनले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भए पनि त्यो सफल हुन नसकेको बताए । जेन–जी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ । जेन–जी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागेको उनले बताए । संयोजक दाहालले आफूहरूले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताए । उनले वास्तविक घर यही भएकाले यताउता भौतारिएर केही नहुने उल्लेख गर्दै आत्मसमीक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरु तयार रहेको बताए ।
उनले भने, ‘कमरेड विप्लवको नेतृत्वमा हामी समाजवादी मोर्चामा सँगै हुँदा मोर्चालाई नै एकतामा लैजाउँ भनेर धेरै प्रयास गरिएको हो । कमरेड विप्लव समेत सबै एकतामा आउन पटक पटक गम्भिर संवाद वार्ता, छलफल पनि नभएको होइनन् । पछिल्लो पटक त झण्डै टुंगियो भन्ने बुझेको थिएँ मैले । अब टुंगियो र आउनुहुन्छ, भन्ने बुझेको थिएँ जतिवेला म आफै उहाँको निवासमा गएर लामो र गम्भिर छलफलपछि अब एकतामा जाने भनिएको थियो । खुमलटारमा कमरेड प्रकाण्डलाई बोलाएर छलफल गरेपछि उहाँ निकै भावुक हुनुभयो र उठेर मलाई अंकमाल गर्नुभयो र अब हामी एक भईयो भन्नु भयो । त्यतिवेला हामीले सोचेका थियौँ, उहाँहरु अब एकतामा आउने हुनुभयो । तर दुर्भाग्य जेनजी आन्दोलन वरिपरि आईपुग्दा कता कता बैचारिक अन्यौलको भुमरीमा, निकै ठुलो तुवालोभित्र उहाँहरु हराएजस्तो, लिडरसीप हराए जस्तो महसुस मैले पनि गरे । जेनजी आन्दोलनपछि उहाँहरु धेरै नै भड्किनुभयो । धेरै नै विचलित हुनुभयो ।’
उनले भने, ‘ठुलो भुमरिमा निसासिए जस्तो देखियो, मुख्य नेतृत्व नै । अहिले पनि उहाँले आत्मसमीक्षा गर्नुपर्छ, जसरी हामीले गरेका छौँ । हामीले यो एकतामा आउन सबै घटकहरुले आ–आफ्नो आत्मसमीक्षा गरेर आफ्ना कमजोरी सच्याउने, यो राष्ट्रको स्वाधिनताको रक्षाको निम्ति, कम्युनिष्ट आन्दोलनको रक्षाको लागि एकचोटी फेरि हामी एकताद्धारा तागत पैदा गर्ने भनेर आएको हो । म उहाँहरुलाई पनि अपिल गर्न चाहन्छु, तपाईहरु पनि आत्मसमीक्षा गर्नुस्, तपाईहरुको रियल घर यही हो, तपाईहरु आउनुपर्ने ठाउँ यही हो । यता र उता गरिराख्नुभएको छ, आजभोली । त्यसले केही हुनेवाला छैन । म गम्भिर ढंगले मेरो पुरानो, संगै बसेको कमरेडहरु हुनुको नाताले पनि म भन्न चाहन्छु, तपाईहरुले आत्मसमीक्षा गर्ने यो बेला हो । अझै पनि तपाईहरुको पुरै अवसर गुमिसकेको छैन । तपाईहरुले आत्मसमीक्षा गनुभयो र एकतामा आउनु भयो भने तपाईहरुलाई स्वागत गर्न फेरि पनि तयार नै छौँ ।’ उनले कम्युनिष्ट शक्तिहरु एक नभएर अगाडि नबढेमा देश दुर्घटनामा जानसक्ने पनि बताए । निर्वाचन नजिकिँदै गरेकोले एकता प्रक्रियामा आउन उनले सम्पूर्ण विचार मिल्ने शक्तिहरुलाई आग्रह गरे ।
