इरानका ठूला अधिकारीहरू र उनीहरूका परिवारलाई अब अमेरिकामा बस्न नदिइने
काठमाडौं । अमेरिकाले इरानका ठूला अधिकारीहरू र उनीहरूका परिवारलाई अब अमेरिकामा बस्न नदिने निर्णय गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएको हो। मन्त्रालयका अनुसार, इरानका जनता आफ्ना आधारभूत अधिकारका लागि संघर्ष गरिरहेका बेला इरानी सरकारका उच्च अधिकारीहरूले अमेरिकामा बस्ने सुविधा लिनु गलत हो।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यही कारण देखाउँदै इरानका वरिष्ठ अधिकारीहरू र उनीहरूका परिवारको आवास अधिकार रद्द गर्ने निर्णय गरेका हुन्।
मन्त्रालयले भनेको छ कि इरानी जनतामाथि भएको दमनबाट फाइदा लिने मानिसहरूले अमेरिकी आप्रवासन सुविधाको लाभ लिनु हुँदैन।
यसैबीच, अमेरिकाको अटलान्टामा रहेको एमोरी विश्वविद्यालयले इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीकी छोरीलाई विश्वविद्यालयबाट निकालेको छ।
फातिमा अर्देशिर लारिजानी त्यहाँ क्यान्सर अनुसन्धान विभागमा काम गर्दै आएकी थिइन्। यो कुरा विश्वविद्यालयका एक शिक्षकले बीबीसी पर्सियनलाई बताएका छन्।
