विप्लवले प्रचण्डलाई भने – लत्रिदै धेरै पर पुग्नुभो, लडाइँमा बलिदान दिएका मान्छेको सम्झना छ भने माओवादीमा फर्किनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रचण्डलाई फर्कन आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा माओवादीको पार्टी ध्रुवीकरण कार्यक्रममा उनले लडाइँमा बलिदान दिएका आफ्नो मान्छेको सम्झना छ भने माओवादीमा फर्कन आग्रह गरे । उनले कम्युनिष्ट आन्दोलनको सपनालाई पूरा गर्ने अठोट अझै रहेको बताए ।
उनले भने, ‘हामी जुन सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं, त्यसलाई पूरा गर्ने हामीसँग अठोट छ । मरेर वा दुःख गरेर भएपनि नेपाली जनतालाई निराश हुन नदिने हामीभित्र अठोट छ । कार्यकर्ताहरु जो अहिले लागि रहेका छन् उनीहरुको जीवन यही माटोमा खोज्ने हामीभित्र आकांक्षा छ ।’
उनले प्रचण्डले माओवादीको बजनदार जिम्मेवारीलाई बोक्न र थाम्न नसकेर लत्रिदै धेरै पर पुगेको भन्दै फर्किन आग्रह गरेका छन् । हिजो लडेका माओवादीहरुलाई पनि होस छ र लडाइँमा बलिदान दिएका आफ्नो मान्छेको सम्झना छ भने माओवादीमा फर्किन पनि उनले आग्रह गरेका छन् ।
उनले भने, ‘मान्छे जम्मा भएर वा धेरै मान्छे भएर कम्युनिष्ट पार्टी ठिक हुने हो, धेरै मान्छे थुपारेर लोभ–लालच देखाएर जनताहरु मान्ने हुन् । आफूले विकास गरेको विचारमा आफै उभिन नसकेपछि आफूले निर्माण गरेको इतिहासको रक्षा आफैंले गर्न नसकेपछि एउटा कुरुप चित्र आन्दोलनमा पैदा हुने रहेछ भन्ने कुरा देख्यौं । त्यसकारण आजको दिनमा कमरेड प्रचण्ड माओवादीको बजनदार जिम्मेवारी त्यसलाई बोक्न नसकेर, थाम्न नसकेर लत्रिदै धेरै पर पुग्नु भएछ । तपाई फर्किनु होस । हिजो लडेका माओवादीहरुमा होस छ भने फर्कियौं ।’
