`

कांग्रेसमा कुनै गुट छैन, सङ्गठनात्मक एकता, अनुशासन र सक्रियता नै पार्टीको मुख्य शक्ति – कांग्रेस सभापति थापा

Nepal One HD १६ माघ २०८२ १९:३६
नेपाली कांग्रेस

धनुषा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै जनताको भरोसा जित्नेगरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आज पार्टीको मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित प्रदेश कार्यसमिति तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको विशेष बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सङ्गठनात्मक एकता, अनुशासन र सक्रियता नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्नुभयो ।

“कांग्रेसमा कुनै गुट छैन, हामी सबै एक हौँ । सबै मिलेर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “निवर्तमान सभापति शेरबहादुर देउवासँग सल्लाह लिइरहेका छौँ ।” मधेसका मुद्दालाई नेपाली कांग्रेसले सम्बोधन गर्ने उहाँको भनाइ छ ।

उहाँले मधेस प्रदेशका राजनीतिक, सामाजिक र आर्थिक मुद्दालाई प्राथमिकतामा राखेर स्पष्ट एजेन्डाका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । सभापति थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र गुटबन्दीभन्दा माथि उठेर साझा लक्ष्यका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई जनतासँग नजिक रहेर काम गर्न, विकास र सुशासनलाई प्राथमिकतामा राख्न तथा पार्टीका निर्णय र नीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टी सङ्गठनलाई जनताको दैनिक समस्यासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मधेसका मुद्दा समाधानका लागि कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।

बैठकमा मधेस प्रदेश कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *