‘महावीर वाणी’ : २/४ हजारमा बिक्नुभयो भने सोझै नर्कमा जान्छ (भिडियो)
काठमाडौं । पूर्वशिक्षामन्त्री महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार छन् । मतदाताकहाँ मत माग्ने उनको बेग्लै शैली छ ।
हाँस्यपरक शैलीमा मत माग्ने उनी कहिले भनिरहेका हुन्छन्– ‘महावीर पुन आयो, मत दिए दिनु, नदिए नदिनु ।’
पार्टीका उम्मेदवारहरू पार्टी संरचनालाई परिचालन गरी व्यवस्थित ढंगले मत माग्न गाउँगाउँ पुग्दा शनिबार बिहान महावीर पनि गलाभरी खादा माला र गालामा अविरले राताम्मे भएर भोट मागिरहेको भेटिए ।
त्यसबेला उनले मतदातालाई भने, ‘२/४ हजार, ५/७ हजार, ८/१० हजारमा बिक्नुभयो भने सोझै नर्कमा जान्छ, नबिक्नुहोस् है ।’
महावीरले मत नबेच्न मतदातालाई आग्रह गरेका हुन् । हरेक निर्वाचनमा कतिपय दल र स्वतन्त्र उम्मेदवारहरू करोडौँ खर्च गरेर मत किन्न लालायित भएको विवरण आइरहँदा महावीरले पैसामा मत नबेच्न सुझाएका हुन् ।
उनी केही समर्थकसहित घरदैलोमा छन् । निर्वाचन भने अबको ३३ औँ दिनमा हुँदैछ ।
