आयोगले सोध्यो आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टिकरण
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टिकरण सोधेको छ ।
आयोगले आईतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रिय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टिकरण सोधिएको जानकारी दिए। उनले स्पष्टिकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । बाँकीको जवाफ आउने क्रममा रहेको उहाँले बताए ।
उनकाअनुसार आयोगले आचारसंहिता उल्लङ्घनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ । कार्यदलले सोधिएको स्पष्टिकरणमा जवाफ पठाएकाहरुलाई कारबाही गर्ने वा नगर्ने निर्णय गरेर केन्द्रिय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने उहाँले जानकारी दिए । नियतवश आचारसंहिता उल्लङ्घन भएको पुष्टि भए आयोगले कारबाही गर्ने उनले बताए।
‘केन्द्रिय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये २१ वटालाई स्पष्टिकरण सोधिएको छ, २१ वटा सम्बन्धित व्यक्ति र संस्थालाई स्पष्टिकरण सोध्ने काम भएको छ । १२ वटाबाट जवाफ आइसकेको छ’,उनले भने, ‘आयोगले कानुन बमोजिम कारबाही गर्छ । कसैलाई सफाईको मौका नदिईकन कारवाही गर्न हुँदैन भन्ने व्यवस्था समेत कानूनमा गरिएको हुन्छ ।’
उनले आचारसंहिता कार्यान्वयनका लागि जिल्लास्तरमा पनि अनुगमन व्यवस्था गरिएको जानकारी दिए । उनकाअनुसार आर्थिक पक्षको अनुगमनका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई र अन्य विषयको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ ।
मिथ्या सूचना प्रशारण गर्नेलाई कारबाही गर्न सिफारिस
निर्वाचन आयोगले डिजिटल माध्यामबाट मिथ्या सुचना प्रशारण गर्नेलाई पहिचान गरी कारबाही गर्न सिफारिस गरेको छ । आयोगको निर्वाचन सूचना संप्रेषण तथा समन्वय केन्द्र (ईआईडीसी) अन्तर्गतका निकायहरुले मिथ्या सूचना प्रवाह गर्नेहरुको पहिचान गरेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । गलत सूचना, मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति जस्ता हानिकारक सूचनाहरू फैलिरहेकोले उनले बताए।
उनकाअनुसार हानिकारण सूचना फैलाउने १२० वटा सामग्री विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ । त्यस्तै, ६ वटा सामग्री दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणमा, १५ वटा प्रेस काउन्सिल ऐन, २०४८ अन्तर्गत प्रेस काउन्सिल नेपालमा र निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनसम्बन्धी ३४ वटा सामग्री केन्द्रिय आचारसंहिता अनुगमन समितिमा पठाइएको उहाँले जानकारी दिए ।
‘हानिकारक सूचनाहरु पहिचान गर्ने र सम्बन्धित निकायमा कारबाहीको लागि लेखेर पठाउने गरिएको छ, त्यसअन्तर्गत १२० वटा कन्टेन्टहरुलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीको लागि नेपाल प्रहरीको साईबर व्युरोमा पटाइएको छ’,उनले भने ‘६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत कारबाहीको लागी दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । १५ वटालाई प्रेस काउन्सिल ऐन २०४८ बमोजिम कारबाहीको लागि प्रेश काउन्सिलमा पठाइएको छ ।’
उनले आयोगको कल सेन्टरमा हालसम्म १ हजार ६७७ वटा प्रश्न प्राप्त भएको पनि जानकारी दिए । तीमध्ये सबैभन्दा बढी मतदाता नामावलीसम्बन्धी ९०६ वटा प्रश्न रहेका छन् । आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य विषयका ५७५ वटा प्रश्न प्राप्त भएको उनले बताए ।
