`

राष्ट्रिय युवा संघको १० हजार ६१७ बुथमा कमाण्ड, मूल कमान्डर अध्यक्ष माहाराज गुरुङ

Nepal One HD १९ माघ २०८२ १६:५६
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संगठनका सबै सदस्यलाई निर्वाचन परिचालित गर्ने निर्णय गरेको छ।

युवा संघका अध्यक्ष महाराज गुरुङद्वारा जारी विज्ञप्तिअनुसार संघले केन्द्रदेखि वडा तहसम्म निर्वाचन परिचालन कमाण्ड प्रणाली लागू गर्ने घोषणा गरेको हो।

केन्द्रमा अध्यक्ष गुरुङको नेतृत्वमा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमाण्ड गठन गरिएको छ। प्रदेशस्तरमा मातहतका निर्वाचन परिचालन कमाण्डलाई संयोजन र नेतृत्व गर्ने जिम्मेवारी तोकिएको छ।

त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरमा १६५ वटा निर्वाचन परिचालन कमाण्ड गठन गरिने निर्णय भएको छ।

ती कमाण्डअन्तर्गत मतदान केन्द्र रहेका संगठनका केन्द्रीय निकाय तथा विभाग, साथै प्रदेश, जिल्ला, पालिका, वडा र टोल कमिटीका पदाधिकारी तथा सदस्यहरू रहने विज्ञप्तिमा उल्लेख छ।

युवा संघले निर्वाचन परिचालन कमाण्डअन्तर्गत ६ हजार ४७३ वटा वडामा वडा कमाण्ड र १० हजार ६१७ वटा बुथमा बुथ कमाण्ड तोक्ने निर्णय गरेको जनाएको छ। यसले संगठनलाई प्रत्यक्ष रूपमा मतदान केन्द्रसम्म परिचालन गर्ने रणनीति देखिएको छ।

विज्ञप्तिअनुसार निर्वाचन परिचालन कमाण्डहरूको मुख्य जिम्मेवारी उम्मेदवारलाई जिताउन आवश्यक प्रचार-प्रसार रणनीति बनाउने, आम मतदातामा जागरण ल्याउने, मतदानका लागि सुरक्षित र भयरहित वातावरण निर्माण गर्ने तथा उम्मेदवारको सुरक्षा व्यवस्थापन गर्ने रहेको छ।

युवा संघले आगामी निर्वाचनलाई संगठनको शक्ति परीक्षणका रूपमा लिँदै एमाले उम्मेदवारको जित सुनिश्चित गर्न सम्पूर्ण संगठनात्मक संरचना प्रयोग गर्ने स्पष्ट संकेत दिएको छ।

राजनीतिक वृत्तमा युवा संघको यो निर्णयलाई एमालेको आक्रामक चुनावी रणनीतिको हिस्सा मानिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *