`

यो चुनाव देश बनाउने कि जलाउने भन्ने बीचको जनमतसंग्रह हो : ईश्वर पोखरेल

Nepal One HD २१ माघ २०८२ १३:४३
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र नम्बर– ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले यस पटकको निर्वाचन सामान्य चुनाव मात्र नभई देशको भविष्य तय गर्ने ‘ठूलो जनमतसंग्रह’ भएको बताएका छन् ।

उनले देश बनाउने शक्तिहरू र देशलाई अस्थिरता तथा विघटनतर्फ लैजान खोज्ने शक्तिहरूबीच निर्णायक लडाइँ भइरहेको उल्लेख गर्दै यो निर्वाचनमा देश बनाउने पक्षले जित्नै पर्ने र देश जलाउने पक्षले हार्नै पर्ने बताए ।

‘यो सवाल नेकपा एमाले वा ईश्वर पोखरेलको मात्र होइन, सवाल देशको हो,’ उनले भने, ‘देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ ।’

नेता पोखरेलले आफू सधैँ राष्ट्रिय हित, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरे ।

उनले जनतालाई वचन दिँदै देशको अहित हुने कुनै पनि कार्य आफूबाट नहुने स्पष्ट पारे । जातीय तथा सामाजिक सद्भाव नेपालको आधार भएको उल्लेख गर्दै जातीय सद्भाव खलबलिन नदिनुपर्नेमा जोड दिएका छन् ।

‘यदि जातीय सद्भाव बिग्रियो भने देश रहँदैन, देश रहेन भने हामी पनि रहँदैनौँ,’ उनले भने ।

जातीय सद्भाव नेकपा एमालेले उठाएको झण्डा भएको बताउँदै उनले त्यो झण्डा कहिल्यै झुक्न नदिने प्रतिवद्धता जनाए ।

एमालेले सुरु गरेको विकास अभियानलाई कमजोर पार्ने षड्यन्त्र भएको आरोप लगाउँदै पार्टीले विकासको अभियान पुनः मजबुत रूपमा अघि बढाउने दाबी गरे ।

उनले देशको समृद्धि, स्थायित्व र राष्ट्रिय एकताको पक्षमा जनताको समर्थन आवश्यक रहेको भन्दै निर्वाचनमा एमालेको विजय देश निर्माणको आधार हुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *