`

महेश बस्नेतको दाबी- देश जलाउने शक्ति जनताले चिने, काठमाडौं उपत्यकामा १० सिट जित्छौँ (भिडियो)

Nepal One HD २१ माघ २०८२ १३:५४
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको ‘उम्मेदवारहरूसँग पत्रकार सम्मेलन’मा बोल्दै उनले सरकार अन्तर्राष्ट्रिय शक्तिको समेत संलग्नतामा एमालेलगायत लोकतन्त्रवादी शक्तिहरूमाथि प्रहार गरिरहेको दाबी गरे ।

‘सरकार कसैको एजेण्डा स्थापित गराउन निर्वाचनलाई प्रयोग गर्न लागिपरेको छ,’ उनले भने ।

उनले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै सरकार मतपरिणाम नै बदल्ने योजनामा लागेको आरोप लगाए । निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर मतपरिणामपरिवर्तन गर्ने प्रयास भइरहेको उनको भनाइ थियो ।

नेता बस्नेतले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका रास्वपा उम्मेदवार बालेन शाहलाई मत माग्न उनकी श्रीमतीसँग सादा पोशाकका प्रहरी खटाइएको बताए । उनले सरकार ‘संरचनात्मक हाइज्याक’ अभियानमा लागेको भन्दै गलत प्रवृत्तिको विरुद्ध बोल्न नसक्ने अवस्था समाजमा सिर्जना गरिएको बताए ।

‘नेपालमा नयाँ जेलेन्स्की उत्पादन गर्ने प्रयत्न भइरहेको छ,’ उनले कडा टिप्पणी गरे ।

बस्नेतले अहिलेको प्रमुख मुद्दा देश र सार्वभौमसत्ता जोगाउनु भएको उल्लेख गर्दै नयाँ पुस्ताले देश ध्वस्त बनाउने होइन, देश बचाउने अभियानमा लाग्नुपर्ने धारणा राखे ।

उनले एमालेले कुनै दलसँग गठबन्धनको कुरा अघि नबढाएको स्पष्ट पार्दै पार्टी अध्यक्षको अन्य दलका नेताहरूसँगको भेटघाट गठबन्धनका लागि नभई वर्तमान समस्याबारे साझा धारणा बनाउन गरिएको दाबी गरे ।

काठमाडौं उपत्यकाका मतदाताको मत हरेक पटक बदलिएको उल्लेख गर्दै उनले भदौ २३ र २४ को घटनाले उपत्यकाका मतदाताले ‘देश जलाउने शक्ति’ चिनेको बताए ।

उपत्यकाका १५ सिटमध्ये कम्तिमा १० सिट एमालेले जित्ने विश्वास व्यक्त गर्दै उनले आगामी निर्वाचनमा एमालेको बलियो उपस्थिति रहने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *