`

सामाजिक सञ्जालमा ओलीविरुद्ध आपत्तिजनक, अश्लील र मर्यादाहीन प्रचारप्रति एमालेको निन्दा (भिडियो)

Nepal One HD २१ माघ २०८२ १४:३६
निर्वाचन विषेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रचारप्रसारका क्रममा भ्रामक, झुट्टा र आपत्तिजनक सामग्री प्रयोग गरी पार्टी नेतृत्व र उम्मेदवारमाथि आक्रमण गर्ने प्रवृत्तिको कडा निन्दा गरिएको छ ।

एमालेले यस्ता गतिविधिमा संलग्न कलाकार वा जोकोहीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

विशेषगरी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक, अश्लील र मर्यादाहीन शब्द प्रयोग गरी सामग्री प्रसारण गरिएको भन्दै एमालेले त्यसप्रति कडा आपत्ति जनाएको छ । पार्टीले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।

एमालेले शान्ति सुरक्षा नै निष्पक्ष निर्वाचनको प्रमुख आधार भएको उल्लेख गर्दै मतदाताले भयरहित र निष्पक्ष वातावरणमा मतदान गर्न पाउने अवस्था अझै तयार नभएको भन्दै सरकारप्रति गम्भीर प्रश्न उठाएको छ ।

देशका विभिन्न जेल तथा सुधारगृहबाट भागेका कैदीहरू अझै फरार रहनु, राजधानीलगायत स्थानमा लुटपाट, चोरी तथा हिंसात्मक घटनामा वृद्धि हुनु र पछिल्ला दिनमा भएका हत्या तथा आक्रमणका घटनाले शान्तिसुरक्षामाथि गम्भीर चुनौती खडा गरेको एमालेको निष्कर्ष छ ।

एमालेको आम निर्वाचन २०८२ का संयोजक मीनबहादुर शाहीद्वारा बुधबार जारी विज्ञप्तिमा विज्ञप्तिमा सरकारले यस्ता घटनाको शीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटना नदोहोरिन कडा सुरक्षा व्यवस्था मिलाउन जोडदार माग गरिएको छ ।

एमालेले राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र शान्ति–सुरक्षामा खलल पुर्‍याउने गतिविधि तथा भड्काऊ प्रचारप्रसारप्रति निगरानी बढाई कानुनअनुसार कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

अन्यथा समाजमा अस्थिरता, हिंसा र कानून उल्लङ्घन बढ्ने खतरा रहेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी सरकार र सरोकारवाला निकायले लिनुपर्ने चेतावनी पनि एमालेले दिएको छ ।

आगामी निर्वाचनको सन्दर्भमा पार्टीले मुलुकभरका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६३ क्षेत्रमा आफ्ना उम्मेदवार कायम राखेको जानकारी दिएको छ ।

कर्णाली प्रदेशको रुकुम–पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारलाई समर्थन गर्ने सहमति भए पनि प्राविधिक कारणले मनोनयन कायम हुन नसकेको उल्लेख गरिएको छ ।

स्थानीय वस्तुस्थितिका आधारमा विभिन्न राजनीतिक दल तथा समूहसँग संवाद र सहमति भएको एमालेको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *