सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस् : संयोजक दाहाल
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो दाबी दोहो¥याउनुभएको हो । सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै संयोजक दाहालले सामाजिक सञ्जालमा हाहा र हुहु गरेर केही पनि नहुने टिप्पणी गरे । उनले राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको बताए। उनले फागुन २१ मै निर्वाचन हुने भन्दै कसैलाई पनि शंका नगर्न आग्रह पनि गरे ।
‘स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ, सोसियल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन, यो राष्ट्रले बुझिसकेको छ राष्ट्रलाई एकतावद्ध गर्नसक्ने, सबैलाई जोड्न सक्ने अनि भ्रष्टाचारका विरुद्ध र सामाजिक न्यायका पक्षमा, सुशासन र आर्थिक विकासका पक्षमा अगाडि लान सक्ने तथा विश्वभरीका हाम्रा मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेता र पार्टी को हो भने नेपाली जनताले बुझिसकेको छ,’उनले भने,’ त्यसकारण यो पटक सही किसिमले निर्वाचन हुँदा हामी यो पटक सही पोजिसनमा आउँछौँ ।’
उनले निर्वाचन देशभर एकै चरणमा गर्न सरकारलाई आग्रह पनि गरे। स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने ग्यारेन्टी सरकारले दिनुपर्ने उनको भनाइ छ ।
