सत्ताका लागि सिद्धान्तसँग सम्झौता नगर्ने कांग्रेस बनाउँछौँ : गगन थापा (भिडियो)
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘बदलिएको नेपाली कांग्रेस’ भन्नुको अर्थ केही अनुहार फेरिनु मात्र नभई पार्टीको सोच, संकल्प, शैली र राजनीतिक संस्कृतिमा गुणात्मक परिवर्तन हुनु रहेको स्पष्ट पारेका छन् ।
उनले बदलिएको कांग्रेस पुरानोसँग सम्बन्ध विच्छेद गर्नु नभई कांग्रेसको मूल विचार, मूल्य र ऐतिहासिक धरातललाई अझ बलियो बनाउँदै नयाँ शैलीमा पुनर्जागरण गर्नु भएको बताएका छन् ।
बुधबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले थापाले कांग्रेसको नयाँपनलाई व्यक्तिको परिवर्तनभन्दा पनि पार्टीको चरित्र, कार्यशैली र दृष्टिकोणको रूपान्तरणसँग जोडेर व्याख्या गरे ।
थापाले कांग्रेसको इतिहास, मूल्य र वैचारिक जरा पार्टीको सबैभन्दा ठूलो शक्ति भएको भन्दै ‘नयाँ कांग्रेस’ ले ती जरालाई काट्ने होइन, अझ फैलाउने र गहिरो बनाउने बताए । ‘डेमोक्रेसी, सोसियल जस्टिस र डाइभर्सिटीको सम्मान हाम्रो मूल आत्मा हो । यही हाम्रो जरा हो । नयाँ कांग्रेसले यही जरालाई अझ बलियो बनाउने हो,’ उनले भने ।
उनका अनुसार नयाँपन भनेको कांग्रेसका कोर भ्याल्युहरूलाई नयाँ शैली, नयाँ भाषा र नयाँ तरिकाबाट प्रस्तुत गर्नु हो, जसले पार्टीमा पुनर्जागरण ल्याउनेछ ।
उनले हिजोका नेताहरू सबै खराब थिए र अहिलेका सबै असल छन् भन्ने खालको बुझाइ गलत भएको पनि स्पष्ट पारे । हिजोका राम्रा कामहरूमा हामी गौरव गर्छौं, त्यसलाई निरन्तरता दिन्छौं । तर कतिपय गल्तीहरू पनि भएका छन्, तिनलाई स्वीकार गर्छौं, सच्याउँछौं र अगाडि बढ्छौं,’ उनले भने । उनका अनुसार बदलिएको कांग्रेसले विगतका सकारात्मक उपलब्धिहरूलाई आत्मसात् गर्नेछ भने गल्ती र कमजोरीलाई दोहोर्याउने छैन ।
थापाले पार्टी सञ्चालन स्पष्ट रोडम्याप र ठोस प्रतिबद्धताका साथ गरिने बताए । उनले कांग्रेस केवल चुनाव जित्ने ‘इलेक्सन मेसिन’ मा सीमित नहुने स्पष्ट गर्दै पार्टीलाई फेरि वैचारिक आन्दोलन, सामाजिक जागरण र राष्ट्रिय अभियानका रूपमा स्थापित गरिने प्रतिबद्धता जनाए । ‘कांग्रेस पार्टी केवल सत्ता र सरकारका लागि होइन, यो एउटा वैचारिक आन्दोलन हो, एउटा सामाजिक जागरणको अभियान हो,’ उनले भने ।
उनले सत्ताका लागि जे पनि गर्ने, जोसँग पनि मिल्ने, सिद्धान्तसँग सम्झौता गर्ने पुरानो प्रवृत्तिलाई अस्वीकार गर्ने पनि स्पष्ट गरे । बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थलाई पार्टीको स्वार्थभन्दा माथि राख्ने प्रतिबद्धता जनाउँदै थापाले भने, ‘सत्तामा पुग्नका लागि सिद्धान्तसँग सम्झौता गर्ने, सरकार टिकाउन जे पनि गर्ने राजनीति अब स्वीकार्य हुँदैन । मज्जाले प्रतिपक्षमा बस्नुपरे पनि हामी सिद्धान्त छोड्दैनौं ।’
उनका अनुसार बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थलाई सर्वोपरि राख्नेछ र पार्टी स्वार्थलाई त्यसको माथि राख्ने छैन । सिद्धान्त, मूल्य र राजनीतिक निष्ठामा सम्झौता नगरी जनताको विश्वास जित्ने राजनीतिक अभ्यास नै नयाँ कांग्रेसको मूल चिनारी हुने उनको दाबी छ ।
थापाले कांग्रेसका संस्थापक नेताहरूले पार्टी स्थापना गर्दा परिकल्पना गरेको जस्तै पार्टीलाई फेरि राष्ट्रिय आन्दोलनको रूपमा उभ्याउने लक्ष्य रहेको बताए । ‘संस्थापकहरूले कांग्रेसलाई समाज परिवर्तन गर्ने, लोकतान्त्रिक चेतना फैलाउने र राष्ट्रिय जागरणको आन्दोलनका रूपमा अघि बढाउनुभएको थियो । बदलिएको कांग्रेस त्यही मूल आत्मामा फर्किने हो,’ उनले भने ।
पार्टीलाई सत्ताको साधन होइन, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय हितको रक्षकका रूपमा पुनःस्थापित गर्नु नै बदलिएको कांग्रेसको लक्ष्य रहेको उनले स्पष्ट पारे ।
