इरानमा रहेका नागरिकलाई देश छोड्ने विकल्पमा विचार गर्न अमेरिकाको आग्रह
काठमाडौं । इरानस्थित अमेरिकी भर्चुअल दूतावासले त्यहाँ रहेका अमेरिकी नागरिकका लागि सुरक्षा चेतावनी जारी गरेको छ।
दूतावासले वर्तमान अवस्थालाई मध्यनजर गर्दै आवश्यक परे आर्मेनिया वा टर्की हुँदै इरान बाहिरिन सक्ने सम्भावनाबारे सोच्न आग्रह गरेको छ।
सुरक्षा सतर्कतामा सञ्चार अवरुद्ध हुन सक्ने उल्लेख गर्दै नागरिकलाई वैकल्पिक सम्पर्क माध्यम तयार राख्न र व्यक्तिगत सुरक्षामा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
बीबीसीका अनुसार हाल इरानका विभिन्न क्षेत्रमा सडक बन्द गरिएको छ भने सार्वजनिक यातायात र इन्टरनेट सेवामा अवरोध देखिएको छ।
यसका साथै, अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् र धेरै एयरलाइन्सहरूले इरान आउने–जाने उडानहरू रद्द वा स्थगित गरेका छन्।
यसैबीच, इरान र अमेरिका बीचको आणविक वार्ता शुक्रबार ओमानमा हुने तय भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्ने नयाँ सम्झौतामा सहमति नजनाए सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्।
इरानले भने आणविक मुद्दामा वार्ताका लागि आफू तयार रहेको जनाएको छ। तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने विषयमा छलफल नगर्ने स्पष्ट पारेको छ।
एजेन्सीहरूको सहयोगमा ।
