रौतहटमा नाबालिका मृत्यु घटनाबारे रास्वपाले दुःख व्यक्त गर्दै भन्यो– आवश्यक राहत उपलब्ध गराउने
काठमाडौं । आलोचना बढ्दै गएपछि रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनाप्रति पार्टीले दुःख व्यक्त गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाले पार्टीलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको उल्लेख छ।
विज्ञप्तिमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।
रास्वपाले घटनालाई गम्भीरताका साथ लिएको जनाउँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कानुनी प्रक्रिया पूरा गर्दै पीडित परिवारलाई न्याय दिलाउने विषयमा पार्टीले कुनै कसर बाँकी नराख्ने पनि विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, पीडित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन पार्टीका तर्फबाट पहल भइरहेको जानकारी दिइएको छ।
घटनापछि पार्टीले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
उम्मेदवार, पार्टीपंक्ति तथा सवारी चालकहरूलाई सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन कडा निर्देशन जारी गरिएको महामन्त्री बुर्लाकोटीले जनाएका छन्।
नाबालिकलाई ठक्कर दिएको घटना बिहीबार दिउँसोकै हो । तर, घटनाबारे रास्वपा मौन थियो । उल्टै रास्वपा समर्थकहरूले घटना सामान्य भए जसरी सामाजिक सञ्जालहरूमा लेखिरहेका थिए ।
तर, मानवीय संवेदनासँग जोडिएको घटनाप्रति रास्वपाको मौनता देखिँदा जनस्तरबाट तीब्र आलोचना भएको थियो । यसपछि मात्रै शुक्रबार मध्याह्न बल्ल रास्वपाले घटनाबारे विज्ञप्ति जारी गरेर मृतक नाबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई समवेदना प्रकट गर्यो ।
आर्थिक सहायता गर्ने घोषणा गर्दै चुनावी अभियानमा सवारी सञ्चालनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो ।

