`

सदावहार विजयकुमार: १२ पटक मन्त्री बनेका गच्छदार ८ औंपटक उम्मेदवार(भिडियाेसहित)

रामचन्द्र जाेशी २३ माघ २०८२ १७:२४
नेपाली कांग्रेस

काठमाडाैं । सातवटा चुनाव लडेर ६ चुनावमा विजयी भएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौं पटक संसदिय चुनाव लड्न तिव्र तयारी गरिरहेका छन् । 

गच्छदार नेपाली राजनीतिमा चतुर खेलाडी मानिन्छन् । २०४६ सालपछिको सत्ता राजनीतिको भरमग्दुर उपयोग गर्दै सबैभन्दा धेरैपटक मन्त्री बन्ने नेताको सूचीमा गच्छदार दोस्रो नम्बरमा छन् । उनी हालसम्म विभिन्न राजनैतिक दल परिवर्तन गर्दै १२ चोटी मन्त्री बनेका छन् । उनको निर्वाचन क्षेत्र सुनसरी-३ हो, जहाँबाट उनी २०४८ सालयता भएका सातवटा संसदीय चुनावामध्ये ६ वटामा अपराजित रहे।  तर गएको २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी पराजित हुन पुगे।  सातौपटक संसद प्रवेश गर्दै १३ औ पटक मन्त्री बन्ने उनको सपनालाई एमालेकी भगवती चौधरीले तुहाइदिइन्। 

गच्छदार फेरि सुनसरी-३ बाट उम्मेदवार बनेका छन्।  पुरानो कांग्रेसमा सधैंभरी अवसर पाएका गच्छादारलाई बदलिएको कांग्रेसमा पनि टिकट पाउन कुनै समस्या भएन । विशेष महाधिवेशनबाट गगन थापा सभापति भए र काँग्रेस बदलिएको उद्घोष गरे । पार्टीका निर्वतमान सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आर्जु राणा देउवादेखि प्रकाशमान सिंहजस्ता हस्तीहरूलाई गगनले टिकट दिएनन् । तर, बदलिएको कांग्रेसले पनि गच्छदारको राजनीतिमा ब्रेक लगाउन सकेन । उनी यतिबेला ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्दै चुनावी मैदानमा उत्रिएका छन्। बद्लिएको कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी भ्रष्टाचारविरूद्धको योद्धा बनेर आएको बताइरहँदा सर्वोच्चमा भ्रष्टाचारकै मुद्धा झेलिरहेका गच्छादार उनको पार्टीबाट सांसद बन्न प्रतिस्पर्धामा छन् । 

यसपटक पनि उनको प्रतिष्पर्धा एमालेकी भगवती चौधरीसँग हुने देखिएको छ। राजनीतिमा उनको छवि त्यति सङ्ग्लो छैन। ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल एमाले उपाध्यक्ष विष्णु पौडेलसँगै गच्छदारको नाम पनि मुछिएको थियो। पछि विशेष अदालतले उनलाई यो मुद्दामा सफाई दियो।  तर, अहिलेपनि ललिता निवास प्रकरणको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ। यसले उनको यसपटकको चुनावी अभियानलाई पनि थप जटिल बनाइदिन सक्छ।

गच्छदार २०४३ सालको पंचायती निर्वाचनमा सुनसरी जिल्लाको सभापतिमा पराजित भए।  त्यसयता २०४८ सालदेखि ७४ सालसम्म उनको संसदीय यात्रा अविजित रह्यो। २०४८ सालको आमनिर्वाचनमा उनले एमालेका लीला सुब्बालाई सुनसरी-३ मा पराजित गरे। 

गच्छदारले सुनसरी-३ बाटै २०४८,२०५१,२०५६ र २०७४ को निर्वाचन नेपाली कांग्रेसको उम्मेदवार भएर जिते। २०६२/६३ को जनआन्दोलनपछि मधेश आन्दोलन चर्किदै थियो।  त्यसबेला गच्छदार काङ्ग्रेस छोडेर तत्कालिन मधेसी जनाधिकार फोरम तिर सक्रिय बने। फोरम गच्छदारका लागि २०६४ को निर्वाचन जित्ने प्लेटफर्म बन्यो।  २०६४ को निर्वाचन फोरमबाट जितेका गच्छदारले पार्टी फूटाउदै आफ्नै नेतृत्वमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) गठन गरे। २०७० सालको दोस्रो संविधानसभा निर्वाचन उनले लोकतान्त्रिक बाटै जिते। 

०७० को निर्वाचनपछि उनी आफ्नै पुरानो राजनैतिक दल कांग्रेसमा फिर्ती भए। ०७४ को निर्वाचनमा उनले एमालेकी भगवती चौधरीलाई पराजित गर्दै संसद प्रवेश गरे।  तर ०७९ को निर्वाचनसम्म आइपुग्दा सुनसरी-३ को चुनावी परिणाम फेरियो।  भगवतीले चुनाव जितिन्। यसपटक गच्छदार अघिल्लोपटकको चुनावी नतिजा उल्ट्याउने मनासायसहित चुनावी मैदानमा छन्। तर, आरोपै आरोपको चाङ बोकेर चुनावी प्रतिष्पर्धामा उत्रेका उनका लागि इच्छित परिणाम निकाल्न भने सहज देखिँदैन। 

कहिले के मन्त्री बने ? 

२०४८ सालको आमनिर्वाचन जितेका गच्छदारको लागि त्यहीँबाट मन्त्री बन्ने ढोका खुल्यो। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मा पाए। त्यसपछि २०५१ को निर्वाचनपश्चात् मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढल्यो। शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो।  त्यो सरकारमा गच्छदार निर्माण तथा यातायात मन्त्री बने। 

गच्छदार नेपाली राजनीतिका ती चतुर पात्र हुन्, जो पंचायत, बहुदल र गणतन्त्रका सबै नेता र नेतृत्वमा मन्त्री बने।  तत्कालीन राजा विरेन्द्र र ज्ञानेन्द्रको पनि रोजाईमा परेका उनी गणतन्त्र आइसकेपछि पनि निरन्तर सत्ताको कुर्सीमा विराजमान भइरहे। 

२०५४ मा बनेको सुर्यबहादुर थापा नेतृत्वको सरकारमा निर्माण तथा यातायात मन्त्री बनेका उनी २०५५ को गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकारमा सोही मन्त्री थिए। त्यसपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा उनले पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाए। सोही वर्ष भट्टराईको क्याबिनेट पुनर्गठन भयो।  पुनर्गठन भएको क्याबिनेटमा गच्छदार जलस्रोत मन्त्रीमा नियुक्त भए। 

२०५८ मा कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने। देउवाको क्याबिनेटमा गच्छदारलाई फेरि जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइयो। त्यसपछि भने गच्छदार २०६५ सम्म मन्त्री बनेनन्। २०६४ को निर्वाचनमा काङ्ग्रेस त्यागेर मधेसवादी दलबाट चुनाव जितेका उनी २०६५ को पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री बने। 

तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरण चर्को बनेपछि प्रचण्ड नेतृत्वको सरकार छोटो समयमै ढल्न पुग्यो।तत्कालिन एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने। नेपाल नेतृत्वको सरकारमा गच्छदारको पनि बढुवा भयो।  यसपटक उनी भौतिक योजना मन्त्रीसँगै उपप्रधानमन्त्री पनि बने। 

त्यसको २ वर्षपछि गच्छदार गृहमन्त्री बने। उपप्रधानमन्त्री त अब उनको नियमितता जस्तै बनिसकेको थियो।  यो बेला देशको प्रधानमन्त्री तत्कालीन माओवादी नेता बाबुराम भट्टराई थिए। त्यसपछि उनी २०७२ मा मन्त्री बने।  एमाले नेता केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारमा उनले भौतिक पुर्वाधार तथा उपप्रधानमन्त्रीको जिम्मेवारी पाए।उनको मन्त्रीका रुपमा अन्तिम कार्यकाल २०७४ मा थियो।  उनी त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास तथा उपप्रधानमन्त्री थिए। त्यसयता गच्छदार मन्त्री बन्न पाएका छैनन्।  २०७४ को चुनाव कांग्रेसबाट नै जितेपनि यसपटक उनी न देउवाको रोजाईमा पर्न सके, न ओली न प्रचण्डको रोजाइमा परे। तर, १२ पटक मन्त्री, ६ पटक सांसद बनिसकेका गच्छदार फेरि मन्त्री बन्ने आकांक्षा बोकेर दाउसहित चुनावी प्रतिष्पर्धामा छन्। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *