सर्वोच्चले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा काँग्रेस सांसद ढुंगानाको असन्तुष्टि
काठमाडाैं । राष्ट्रिय सभाका नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रवार राष्ट्रिय सभा बैंठकमा विशेष समय लिएर बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।
सांसद ढुंगानाले सर्वोच्च अदालतका न्यायाधिशहरु यति धेरै निरीह भएको आफूले यसअघि कहिल्यै नदेखेको जिकिर समेत गरे। उनले पञ्चायत कालमा पनि न्यायाधीशहरुले मुद्दाको किनारा लगाउने कामलाई प्राथमिकता दिने गरेको दृष्टान्त पेश गर्दै अहिले त्यो अवस्था नहुनु चिन्ताको विषय भएको बताए।
‘यो देशको राष्ट्रियता कमजोर भयो । संसद पुनःस्थापनाका लागि मुद्दा परेको छ । न्यायाधीशहरु यति निरीह भइरहनु भयो,’सांसद ढुंगानाले भने, ‘नेपालको न्यायाधीश किन यति निरीह भए मलाई थाहा छैन । पञ्चायतका, राजाको कालमा पनि आफूमाथि राजकाजको मुद्दा पर्दा तत्काल फैसला हुन्थ्यो । तर आज त्यस्तो अवस्था छैन ।’
सांसद ढुंगानाले सरकारले राष्ट्रिय हितको पक्षमा आवश्यक ध्यान दिन नसकेको आरोप पनि लगाए ।
