प्रधानमन्त्री बन्दुक बोकेर हिँड्दैन भन्दै ओली भने- म त बच्चाबच्चीलाई अत्यन्तै माया गर्छु (भिडियो)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी विद्रोहको बेला २३ जना बालबालिकाको हत्या गरेको आरोपलाई अस्वीकार गर्दै विद्रोह गराउनेहरू नै हत्यामा जिम्मेवार रहेको बताएका छन् ।
आफू बालबालिका र युवाहरूलाई जिन्दगीभर माया गर्ने नेता भएको भन्दै प्रधानमन्त्रीसँग बन्दुक नहुने र प्रहरीलाई गोली चलाउन आदेश नदिने पनि बताए । प्रहरीलेअप्ठ्यारो पर्दा आफैं गोली चलाउने उनको भनाइ छ ।
‘सबैलाई थाहा होला, प्रधानमन्त्री बन्दुक बोकेर हिँड्दैनन् । प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने नदिने केही पनि गर्दैनन् । उनीहरू (प्रहरीस)सँग आफैं आदेश हुन्छ कि अप्ठ्यारो पर्यो भने गोली चलाउने,’ उनले झापाली मतदाताहरूलाई भने, ‘जसले सबैभन्दा बढी बच्चा बच्चीलाई जिन्दगीभर माया गरेको छ, जसले जिन्दगीभर युवाहरूलाई माया गरेको छ, युवाहरूको उत्थान कसरी गर्ने भन्ने अभियान चलाएको छ । उही मान्छेलाई बच्चा बच्ची मारेको आरोप !’
उनले आफूले राजीनामा दिएपछि पनि ५४ जना मारिएको भन्दै घटनामा विद्रोह गराउनेहरू जिम्मेवार रहेको आरोप लगाए ।
‘यी अपराधीहरू माथि लुट्न पठाइदिने, तलबाट आगो लगाइदिने, मान्छे निस्कन नपाइ ५४ जना मान्छेहरू त्यसरी मरेका छन्,’ उनले भने ।
झापा–५ का आफ्ना चुनावी प्रतिस्पर्धी तथा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन)तर्फ संकेत गर्दै उनले देश चलाउने परिस्थिति उनैले तयार गरेको आरोप लगाए ।
‘देशमा आगजनी गर्ने वातावरण बनाउनका लागि बन्द र तोडफोड गर्ने, संसद् भवन चलाउने, सिंहदरबार जलाउने कोसिस गरेको प्रहरीमाथि आक्रमण गर्ने गराउने काम गरेर, विद्यार्थीलाई रोकेर अगाडि लगाएर गोली चलाउने वातावरण बनाएर त्यसरी परिस्थिति बिगार्ने काम यिनै अपराधीहरूले गर्छन्,’ उनले भने ।
