‘देउवा हाम्रो अभिभावक हो, कांग्रेस उम्मेदवारहरूलाई जिताउन अपिल गर्नुहुन्छ’ (भिडियो)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वतमान सभापति शेरबहादुर देउवाले कांग्रेसलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् ।
देउवा मौन बस्दा अन्तर्घात हुन सक्ने आशंकाबीच पौडेलले देउवालाई कांग्रेसको के गर्दा हित हुन्छ भन्ने थाहा भएको र उनले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन अपिल गर्ने विश्वास व्यक्त गरे ।
‘उहाँ (देउवा)ले लोकतन्त्र बुझ्नुभएको छ, कांग्रेसको हित के गर्दा हुन्छ ? त्यो पनि बुझ्नुभएको छ । त्यसैले उहाँले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन अपिल गर्नु हुनेछ,’ उनले भने, ‘उहाँले पार्टीभित्र एकता कायम गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ । उहाँले सक्रिय राजनीति नगर्दैमा कांग्रेसको अभिभावक नबन्ने भन्ने हुँदैन । उहाँ हाम्रो अभिभावक हो । उहाँले अहिले कांग्रेसले किन जित्नुपर्छ भन्ने उहाँले गहिराइमा बुझ्नुभएको छ ।’
महामन्त्री पौडेललाई देउवाको घरमा भेटिएको पैसाबारे धारणा बुझ्न खोज्दा उनले राज्यले छानबिन गर्नुपर्ने जवाफ दिए ।
जेन–जी विद्रोहको बेला २४ भदौमा काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो ।
त्यसबेला ठूलो मात्रमा पैसा भेटिएको थियो । लगत्तै सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेर अनुसन्धान थालेको थियो । तर, पाँच महिना बित्दासम्म विभाग मौन छ ।
