मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म
हेटौँडा। मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै तयारी तीव्र पारिएको छ ।प्रदेश निर्वाचन कार्यालय हेटौँडाले विगतका निर्वाचनमा प्रयोग भएका मतपेटिकालाई पुनः प्रयोगमा ल्याउने प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार मतपेटिका सफाइ, मर्मत तथा प्राविधिक परीक्षणको कार्यलाई अन्तिम चरणमा पुर्याइएकोे छ ।
प्रदेश निर्वाचन कार्यालय परिसरमा कर्मचारीहरू पुराना मतपेटिका धुने, सुकाउने, आवश्यक भाग मर्मत गर्ने तथा ताला–सिल परीक्षण गर्ने कार्यमा व्यस्त भएको निर्वाचन अधिकारी ढकालले जनाउनुभयो ।
ढकालका अनुसार स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै खर्च व्यवस्थापनलाई ध्यानमा राखी पुनः प्रयोगयोग्य सामग्रीलाई प्राथमिकता दिइएको हो । “सरकारी स्रोतको मितव्ययी उपयोग हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो, “प्राविधिक रूपमा उपयुक्त रहेका मतपेटिका पुनः प्रयोग गर्दा लागत घट्नेमात्र होइन, वातावरणीय हिसाबले पनि सकारात्मक सन्देश जान्छ ।”
बाउन्न प्रकारका सामग्रीको व्यवस्थापन
निर्वाचन कार्यालयका अनुसार एक मतदान केन्द्रमा कम्तीमा ५२ प्रकारका सामग्री आवश्यक पर्छन् । ती सामग्रीलाई केन्द्रअनुसार छुट्टाछुट्टै प्याकेजिङ गरी सूचीबद्ध रूपमा तयार पारिँदैछ । प्रत्यक्षतर्फ ४३ लिटर र समानुपातिकतर्फ ८५ लिटर क्षमताका दुई मतपेटिका प्रत्येक मतदान केन्द्रमा पठाइने छन् भने एक जगेडासहित तीनवटा मतपेटिका व्यवस्था गरिएको छ ।
यसका अतिरिक्त मतपत्र, मतदाता नामावली, छाप, स्ट्याम्प प्याड, रजिस्टर, फाराम, गोपनीयता पर्दा, सुरक्षा सिल, ट्याग, मसी, स्टिकर, मतदानकक्ष सङ्केत बोर्ड, निर्देशन पुस्तिकालगायत सामग्री क्रमशः तयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ । मतदानको दिन कुनै सामग्री अभाव नहोस् भन्ने उद्देश्यले प्रत्येक केन्द्रका लागि आवश्यक सामग्रीको पुनः जाँच (क्रसचेक) गरिने व्यवस्था मिलाइएको छ ।
आचारसंहिता कार्यान्वयनमा कडाइ
निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन भइरहेको र हालसम्म कुनै गम्भीर उजुरी नआएको प्रदेश निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसार, सार्वजनिक सभा–जुलुस, सामाजिक सञ्जाल प्रयोग, खर्च विवरण तथा अन्य गतिविधिमाथि विशेष निगरानी राखिएको उहाँले बताउनुभयो ।
“आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना प्राप्त भएमा तत्काल छानबिन गरी आवश्यक निर्देशन वा कारबाही गर्ने संयन्त्र सक्रिय अवस्थामा छ”, ढकालले भन्नुभयो, “निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गराउन आयोग पूर्ण प्रतिबद्ध छ ।” प्रदेश निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तह, निर्वाचन फोकल पर्सन, प्रशासन तथा सुरक्षा निकायसँग दैनिक समन्वय बैठक गर्दै अनुगमनकार्य अघि बढाइरहेको जनाएको छ ।
तीन हजारभन्दा बढी कर्मचारी परिचालन
मकवानपुरका १७६ मतदानस्थलअन्तर्गत ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित तीन हजार ३६६ कर्मचारी परिचालन गरिने भएका छन् । निर्वाचन अवधिभर दुई हजार २४४ कर्मचारी र एक हजार १२२ जना स्वयंसेवक खटिने प्रदेश निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो ।
प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित आयोगबाट छ जना कर्मचारी खटाइनेछन् । मतदानस्थलमा तीन जना स्वयंसेवक परिचालन गरिने व्यवस्था गरिएको छ । जनशक्ति व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको र खटाइने कर्मचारीलाई आवश्यक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
चार हजारभन्दा बढी सुरक्षाकर्मी
निर्वाचन शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन करिब चार हजार २०० सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी (जनपथ) तथा करिब दुई हजार २०० निर्वाचन प्रहरी परिचालन गरिनेछन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जनपथ प्रहरीको एकिन सङ्ख्या केही दिनमै टुङ्गो लाग्ने जानकारी दिनुभयो । सुरक्षा निकायले संवेदनशील क्षेत्रमा विशेष निगरानी, नियमित गस्ती तथा प्रचारप्रसार गतिविधिको अनुगमन गर्ने जनाएको छ ।
मतदानस्थलको वर्गीकरण
जिल्लामा कुल १६७ मतदानस्थलमध्ये १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । अतिसंवेदनशील सूचीमा २६ मतदान केन्द्र परेका छन् । बकैया गाउँपालिकामा पाँच मतदानस्थल अतिसंवेदनशील रहेका छन् भने राक्सिराङ, बागमती, भीमफेदी, मनहरी र कैलाश गाउँपालिकाका केही स्थल पनि सो सूचीमा समावेश छन् ।
संयुक्त अनुगमन टोलीले मतदानस्थलको भौतिक अवस्था, पहुँचमार्ग, सञ्चार सम्पर्क, मतदानकक्ष व्यवस्थापन तथा सुरक्षा संवेदनशीलताको मूल्याङ्कन गरिसकेको छ । भीमफेदीको एक मतदानस्थलमा सडक पहुँच नभएकाले पैदलमार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
तीन लाखभन्दा बढी मतदाता
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । मतदाता शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तह र सरोकारवाला निकायमार्फत सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन् । निर्वाचन अधिकारी ढकालले मतदातालाई निर्धक्क र उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको छ । “लोकतन्त्रको सुदृढीकरणका लागि मतदाताको सक्रिय सहभागिता अनिवार्य छ, सबै सरोकारवाला पक्षको सहकार्यले मात्र निर्वाचन सफल हुन्छ”, उहाँले भन्नुभयो ।
आयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा मकवानपुरमा प्रशासनिक, प्राविधिक तथा सुरक्षा तयारी तीव्रगतिमा अघि बढिरहेको छ ।
