`

३० कारणले ओलीलाई मत दिनुपर्छ : एमाले

Nepal One HD २ फागुन २०८२ १६:०७
निर्वाचन विषेश

झापा । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत दिनैपर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा क्षेत्र नम्बर–५ को कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षादेखि शिक्षक दरबन्दी मिलानसम्मका विषयहरू समेटेको छ ।

केपी शर्मा ओलीलाई नै भोट किन भन्ने शीर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनुपर्ने उल्लेख गरिएको छ ।

‘देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्दछ,’ अपिलमा भनिएको छ ‘झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरूलाई सम्पन्न गर्नका लागि केपी ओलीलाई मत दिन अपिल गरिन्छ ।’

एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमुलक विकास गर्दै स्वरोजगारको अभिवृद्धिका लागि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ । ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषि क्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकोले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ ।

निर्माणाधिन एसियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र अधुरो हुलाकी सडक सम्पन्न गर्न पनि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ ।

यसैगरी दमकको मुख्य आर्थिक र मानवीय स्रोतको रुपमा रहेको दमक–रवि–चिसापानी सडक निर्माण सम्पन्न गरी जनताको जीवनस्तर उकास्नका लागि पनि अध्यक्ष ओलीलाई निर्वाचित गर्न माग गर्दै एमालेले अपिल जारी गरेको छ ।

‘नेपाल–चीनमैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न ओलीलाई यस क्षेत्रबाट निर्वाचित गर्नुपर्दछ,’ अपिलमा भनिएको छ, ‘दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकीकरण गर्दै स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि ओलीलाई मतदान गर्नुपर्दछ छ ।’

एमालेले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि ओलीलाई मतदान गर्न अनुरोध गरेको छ ।

एमालेका केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार रतुवा, मावा, कमललगायतका खोलाको तटबन्धन कार्य पूरा गर्नका लागि पनि ओलीलाई जिताउन आम मतदातासँग आह्वान गरिएको हो ।

यसैगरी दमक–गौरादह र गौरीगञ्जका सबै स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तारका लागि पनि ओलीलाई मत दिन आह्वान गरिएको कार्कीले बताए ।

‘केपी ओली र झापा ५ एकअर्काका परिपुरक हुन,’ कार्कीले भने, ‘उहाँले गरेका विकास निर्माणका काम, उहाँले प्रत्यक्ष रुपमा चिनेका मतदाता, भूमिगतकालमा बसेका सेल्टरदाताहरूसँगको सामिप्यताले उहाँले चुनाव सहजै जित्नुहुन्छ ।’

कार्कीका अनुसार पार्टीले मतदातालाई अध्यक्ष ओलीलाई स्मरण गराउनका लागि अपिल जारी गरिएको हो ।

‘अपिलमा मुख्यमुख्य विषयहरू समेटिएकाले घरदैलोमा गएका पार्टीका कार्यकर्तालाई पनि मतदातालाई कुरा बुझाउन सजिलो सामग्रीको रुपमा पनि प्रयोग भएको छ,’ कार्कीले भने, ‘यस्तो अपिल परिवार संख्याका आधारमा एउटा वडामा कम्तीमा १५ सय वटा बाँढिन्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *