झापा जाँदै ओली, भद्रपुर विमानस्थलमा सुरक्षा व्यवस्था कडा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदैछन् । उनी झापा–५ का एमाले उम्मेदवारसमेत हुन् ।
उनी झापा जाने भएपछि भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य कसैलाई पनि प्रवेश दिइएको छैन । विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
ओलीको सुरक्षाका लागि विमानस्थलमै सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ । केही दिनअघि ओली चुनाव क्षेत्रमा गएका थिए । त्यसबेला उनीप्रति युवा, विद्यार्थी, किसान, मजदुर, व्यापारीलगायतले स्वागत गरेका थिए ।
ओली आठौँपटक चुनावी मैदानमा छन् । उनको पक्षमा नेकपा एमाले झापा–५ को कमिटीले शनिबार ३० कारणले ओलीलाई मत दिनुपर्ने भन्दै एउटा पर्चा सार्वजनिक गरेको थियो ।
त्यसको भोलिपल्टै ओली झापा जाने भएका हुन् । सोमबारदेखि भने सरकारले चुनावी सभा गर्न दलहरू र स्वतन्त्र उम्मेदवारहरूलाई दिने भएको छ ।
ओलीले भने चुनाव क्षेत्रको ठाउँठाउँमा सभा गरेर यही ६ फागुनमा मात्रै काठमाडौं फर्किने भएका छन् ।
