`

आज राति १२ बजेपछि चुनावी प्रचार सुरु: आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह (भिडियो)

Nepal One HD ३ फागुन २०८२ १७:३५
निर्वाचन विषेश

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले फागुन ३ गते राति १२ बजेदेखि औपचारिक रूपमा चुनावी प्रचारप्रसार सुरु हुने जानकारी दिए। उनले निर्वाचन आचारसंहिताअनुसार मतदान मितिभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा, बैठक, भेला तथा सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्न पाइने व्यवस्था रहेको बताए।

उनका अनुसार फागुन ३ गते राति १२ बजेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार गर्न सक्नेछन्। निर्वाचनलाई निस्वार्थ उच्च प्राथमिकतामा राखेर सबै पक्षले जिम्मेवार ढंगले आचारसंहिता पालन गर्नेमा आयोग विश्वस्त रहेको उनले बताए।

भण्डारीले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि आयोगले विभिन्न संयन्त्र परिचालन गरिसकेको उल्लेख गर्दै उल्लंघन भएको अवस्थामा स्पष्टीकरण सोध्ने वा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने अवस्था नआओस् भन्ने आयोगको चाहना रहेको स्पष्ट पारे।

निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग व्यापक छलफल गरेर उनीहरूकै सहमतिमा तयार गरिएको दस्तावेज भएको उल्लेख गर्दै उनले सबै पक्षले आफ्नो प्रतिबद्धताअनुसार यसको पालना गर्ने अपेक्षा व्यक्त गरे।

आयोगले निर्वाचनलाई विश्वसनीय र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी भइरहेको पनि जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *