टी-२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै, यस्तो छ ‘हेड टु हेड’ रेकर्ड
काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा आज दुई परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच खेल हुँदै छ । श्रीलंकाको कोलम्बोमा हुने खेल नेपाली समय अनुसार साँझ ७:१५बजे सुरू हुने छ ।
२० ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीको १७औं भिड्न्त हो । यसअघि यी दुई टोली १६ पटक आमनेसामने हुँदा पाकिस्तानले तीन पटक मात्रै जित निकालेको छ । भारतले १३ पटक खेलमा बाजि मारेको छ ।
२० ओभरको विश्वकपमा मात्रै यी दुई टोलीबीच आठ वटा भिडन्त भइसकेको छ । तर, नतिजा भने एक पक्षिय छ । जसमा भारतले सात खेल जित्दा पाकिस्तान एक पटक मात्रै सफल भएको छ ।
यी दुई टोलीबीच १४ वटा खेल भारत र पाकिस्तान दुवै देशभन्दा बाहिर ‘न्युट्रल भेन्युमा’ भएको छ । यसमा ११ खेल भारतले जित्दा ३ खेल मात्र पाकिस्तानले आफ्नो पक्षमा पारेको छ ।
आजको खेल पनि न्युट्रल भेन्यु अर्थात श्रीलंकाको कोलम्बोमा हुने छ ।
समूह एमा रहेका यी दुवै टोलिले यसअघि खेलेका दुवै खेल जितेका छन् । आज जित्ने टोली सुपर आठमा पुग्ने छ । पराजित टोलीले अर्को खेलको नतिजा प्रतिक्षा गर्नुपर्ने छ ।
