`

नेपाल बहुराष्ट्र होइन, साम्प्रदायिक द्वेष फैलाउने प्रयास हुँदैछ: ओली

रामचन्द्र जोशी ३ फागुन २०८२ २०:२९
निर्वाचन विषेश

दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहुराष्ट्रको रूपमा चित्रण गर्ने कोसिस भ्रमपूर्ण र गलत प्रयास भइरहेको बताएका छन् । उनले नेपाल बहुराष्ट्र राज्य नभएर एकीकृत राष्ट्र भएको बताएका छन्।

आइतबार झापा-५ मा नेपाल मुस्लिम इत्तिहाक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले देशमा जात, भाषा र धर्मका विविधता भए पनि राष्ट्र भने एकै भएको र त्यसलाई कमजोर बनाउन खोज्ने तत्वहरूप्रति शतर्क रहन आग्रह गरे।

साम्प्रदायिकताबाट देश असुरक्षित बन्ने चेतावनी दिँदै ओलीले नेपालमा साम्प्रदायिकता फैलाउने, जातिय वैमनस्य बढाउने, भाषागत तथा धार्मिक विभाजन खडा गर्ने तत्वहरू सक्रिय रहेको उल्लेख गर्दै त्यसले समाजमा द्वन्द्व र अस्थिरता निम्त्याउने चेतावनी दिए। ‘हामी सबै मिलेर सामाजिक विद्वेष फैलाउने तत्वहरूलाई पराजित गर्नुपर्छ,’ उनले भने, ‘समाजमा शान्ति, सद्भाव र सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य आवश्यकता हो।’

उनका अनुसार धार्मिक तथा सांस्कृतिक विविधता नेपालकै सौन्दर्य हो तर यसलाई दुरुपयोग गरी समाजमा विघटन ल्याउन खोज्नु गम्भीर खतरा हो। उनले सबै धर्म, भाषा र आस्थाको सम्मान गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय एकता एमालेको मूल अभिमुखीकरण

साथै अध्यक्ष ओलीले सामाजिक समानता, न्याय र समभाव राष्ट्रिय एकताको जग भएको उल्लेख गरे । ‘हामी विभिन्न जाति, भाषा र संस्कृतिका मानिसहरू हौं तर राष्ट्र भने एउटै हो,’ ओलीले भने,’यही साझा पहिचानलाई बलियो बनाउनु हाम्रो दायित्व हो।’

ओलीले राज्यले सबै नागरिकलाई समान अवसर, सुरक्षा र सम्मान दिनुपर्ने बताए। आफूले मान्ने धर्मअनुसार चल्दा अर्काको विश्वासमा धक्का नलाग्ने व्यवहार लोकतान्त्रिक समाजको आधार भएको पनि उनले उल्लेख गरे।

अल्पसंख्यक जाति र समुदायले पनि नेतृत्वको जिम्मेवारी लिनुपर्छ

समुदायबीचको सद्भाव निर्माणमा अल्पसंख्यक जाति तथा समुदायको भूमिकालाई विशेष महत्व दिँदै ओलीले भने ‘सामाजिक समानता र सद्भावका अभियानमा नेतृत्व बहुसंख्यकले मात्र होइन, अल्पसंख्यक समुदायले पनि अग्रभूमिमा रहेर गर्नुपर्छ।’

उनले नेपाल विविधतायुक्त राष्ट्र भएपनि राष्ट्रियतालाई केन्द्रमा राखेर सबै नेपालीले एकअर्काप्रति सम्मान र भरोसा कायम गर्नु आवश्यक रहेको टिप्पणी गरे।

सद्भाव खलल पुर्‍याउने गतिविधिमा सतर्क रहन आह्वान

कार्यक्रममा उपस्थित सहभागीहरूलाई सम्बोधन गर्दै ओलीले अहिले पनि साम्प्रदायिक द्वेष फैलाउन खोज्ने धेरै तत्व सक्रिय भएको भन्दै सतर्क रहन आह्वान गरे । उनले यहाँका स्थानीय नागरिक, राजनीतिक दलहरू र सामाजिक संस्थाहरूलाई सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता जोगाउन सक्तिशाली भूमिका निभाउन आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *