७५ हजार भन्दा बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ हजार बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ ।
कामपाले हाल पाँचौ संस्करणका न्यायिक सहजकर्तालाई निःशुल्क कानुनी सहायता समेत प्रदान गरिरहेको छ । त्यसका लागि सार्वजनिक सूचना प्रकाशन गरेर कानुन विषयमा स्नातक तह तेस्रो वर्ष पूरा गरेका इच्छुक विद्यार्थीलाई सहजकर्ताका रुपमा छनोट गरिएको छ ।
पाँचौँ संस्करणसम्म आइपुग्दा ७५ हजार १९९ जना सेवाग्राहीले निःशुल्क कानुनी तथा प्रशासनिक सहायता प्राप्त गरेको कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोले जानकारी दिइन् । डङ्गोलले भनिन्, “कानुन नजानेका कारण, लेख्न नजानेका कारण, प्रक्रिया नबुझेका कारण वा एक्लो भएर सहयोग गर्ने मान्छे नभएका कारण कोही पनि न्यायबाट बञ्चित हुनु नपरोस् हाम्रो चाहना हो ।”
पीडितका पीडालाई औपचारिक निवेदनको भाषामा उतार्न कठिन हुने भएकाले सहजकर्ताको व्यवस्था गरिएको हो । कामपाका निर्देशक वसन्त आचार्यले सहजकर्ताका सर्त तथा दायित्व, स्थानीय विवाद समाधानका उपायका बारेमा भने, “कामपाले सेवाग्राहीलाई निःशुल्क सेवा दिन सहजकर्ताको व्यवस्था गरेको हो । सहजकर्ताले शुल्क, उपहार तथा कुनै पनि प्रकारको सहयोग लिनुहुँदैन ।”
कानुन तथा मानव अधिकार विभागका निमित्त प्रमुख सुशील कुँवरले, नबुझी वा आफू स्पष्ट नभइ सेवा नदिन र अस्पष्ट भएका कुरा जनप्रतिनिधि, वडा सचिव तथा केन्द्रमा कानुन तथा मानव अधिकार विभागसँग स्पष्ट हुन आग्रह गरे।
एक वडा र अर्को वडामा काम गर्ने सहजकर्ताका बिचमा समन्वय संयन्त्रले समस्यालाई आपसी समन्वयमा समाधान गर्न सकिन्छ । सेवाग्राहीको आवश्यकता अनुसार सामान्य निवेदन, उजुरी निवेदन, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफको मस्यौदा गरिदिने, मौखिक उजुरी परामर्श दिने सहजकर्ताको यस क्रममा लिखतको ढाँचा, त्यसमा प्रयोग हुने शब्द, भाषा कानुनमा तोके बमोजिम बनाउन सहजकर्तालाई जिम्मेवार बनाइएको छ ।
