महोत्तरी–१ : मतदाता रिझाउन घरदैलोमा उम्मेदवार
महोत्तरी। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी–१ का उम्मेदवार अहिले मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् ।
यस क्षेत्रमा १२ राजनीतिक दलका र १३ स्वतन्त्रसहित २५ जना उम्मेदवार छन्। जताततै चुनावी चर्चा चुलिएको छ । चिया पसलमा पनि सबै चुनावी लख काट्न व्यस्त देखिन्छन् । दलका कार्यकर्ता र उम्मेदवार बस्तीबस्तीमा झण्डा फहराउँदै गाडी लिएर पुगिरेहका छन् ।
“भोटै त कति हालियो कति, हाम्रा दुःख जहाँका त्यही छन्”, महोत्तरी–१ भङ्गाहा–४ जमुनियाँचोकस्थित चिया पसलमा भेटिनुभएका स्थानीय नन्दा चौधरी थारूले भन्नुभयो, “न खेतबारीमा सिँचाइ, न छोराछोरीलाई रोजगारी, कसलाई दिनु हो भोट ?” सिँचाइ नहुँदा बाला ओइलाउँदै गरेको गहुँको बोट देखाउँदै उहाँले भन्नुभयो, “अब त जसले सिँचाइको प्रबन्ध गर्छ, तिनैलाई भोट दिइन्छ ।”
सोही बस्तीका महिकरण चौधरीले पनि सिँचाइ गाउँलेको पहिलो प्राथमिकता रहेको बताउनुभयो । “जीवन गुजारा धान्ने खेतीपातीले नै हो, तर हामी किसानतिर फर्केर हेर्ने कोही भएनन्”, उहाँ भन्नुहुन्छ, “न सिँचाइ, न समयमा बीउमल, न सुलभ ब्याजदरको ऋृणको व्यवस्था ।”
सोही बस्तीका महिकरण चौधरीले पनि सिँचाइ गाउँलेको पहिलो प्राथमिकता रहेको बताउनुभयो । “जीवन गुजारा धान्ने खेतीपातीले नै हो, तर हामी किसानतिर फर्केर हेर्ने कोही भएनन्”, उहाँ भन्नुहुन्छ, “न सिँचाइ, न समयमा बीउमल, न सुलभ ब्याजदरको ऋृणको व्यवस्था ।”
जिल्लाको सम्पूर्ण चुरेक्षेत्र ओगटेको यहाँका वन, पहाडी शृङ्खला र नदीनालाको संरक्षण र समुचित प्रयोग आम मतदाताको चासोको विषय बनेको छ । “वन मासिँदो छ, पहाडी थुम्का र नदीमा अनियन्त्रित उत्खननले बर्सेनि बाढीबाट कटान, डुबान र पहिरोको समस्या झेलिदै छ”, बर्दिबास–९ पशुपतिनगरका सामाजिक कार्यकर्ता अमृतकुमार महतो भन्नुहुन्छ, “यी सम्पदाको संरक्षणको मुद्दामा दलहरूको खासै रुचि देखिँदैन ।”
अहिले चुनाव प्रचारमा निस्केका दलका नेता, कार्यकर्ता र उम्मेदवारले जनताका यिनै प्रश्न सामना गरिरहेका छन् । यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले २०६४, २०७० र २०७४ सालमा चुनाव जितेका थिए । पटकपटक मन्त्री बनिसक्नुभएका गिरिराजमणि पोखरेल र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अघिल्लो निर्वाचनका विजेता लक्ष्मी महतो कोइरी उम्मेदवार छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका डा मुकेश काफ्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो, जनता समाजवादी पार्टीका योगनारायण महतो र आम जनता पार्टीका मुकेश साह पहिलोपटक प्रतिस्पर्धामा उत्रिएका छन् ।
यहाँको बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका प्रतिनिधिसभा क्षेत्र नं १ मा पर्छन् । बर्दिबासका सबै (१४), गौशालाका सबै (१२) र भङ्गाहाका ३, ४, ५ र ९ नम्बर वडासमेत यस क्षेत्रका जम्मा ३० वडामा सानाठूला गरेर १२५ भन्दा बढी टोल बस्ती छन् ।
यहाँका अधिकांश बस्ती बर्खामा कटानको जोखिम र हिउँद नसकिँदै खानेपानीको हाहाकारमा पर्दै आएका छन् । यहाँका ३० वडामा ५९ मतदानस्थल र १३० मतदान तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक लाख पाँच हजार ६४६ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो ।
