`

काेशीमा ‘नेशनल भोलेन्टियर्स फोर्स’ गठनपछि ‌ओलीले भने- अब देश जल्दैन (भिडियाे)

Nepal One HD ११ फागुन २०८२ १५:२२
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी विद्राेहका क्रममा भएका आगजनी र अराजकतापूर्ण गतिविधिलाई स्मरण गर्दै अब त्यस्ता घटना दोहोरिन नदिने चेतावनी दिएका छन्।

उनले पार्टीले ‘नेशनल भोलेन्टियर्स फोर्स’ गठन गरिसकेको उल्लेख गर्दै यसले शान्ति र सुव्यवस्था कायम गर्न प्रहरीलाई सहयोग गर्ने बताएका छन्।

ओलीले विद्राेहका बेला पार्टी कार्यालय, जनप्रतिनिधिमूलक संस्था, गाउँपालिका र नगरपालिका कार्यालय, उद्योग तथा डिपार्टमेन्टल स्टोरसम्म जलेको प्रसंग उठाउँदै भने, ‘जेन–जी आन्दोलनका बेला पार्टी कार्यालयहरू जले, जनप्रतिनिधिमूलक संस्थाहरू जले, गाउँपालिका, नगरपालिका जले, उद्योगहरू जले, डिपार्टमेन्टल स्टोरहरू जले, देश जल्यो, जल्ने रहेछ,’ उनले थपे, ‘हामीले नेशनल भोलेन्टियर्स फोर्स बनाएका थिएनौँ। अब बनायौँ। अब जल्दैन।’

उनले राज्यका प्रमुख संरचनामाथि आक्रमण हुन नदिने स्पष्ट सन्देश पनि दिए। ‘अब कसैलाई हामी सिंहदरबार जलाउन दिने छैनौँ। सर्वोच्च अदालत जलाउन दिदैनौँ। प्रहरीलाई कुटपिट गर्न दिँदैनौँ,’ उनले भने, ‘त्यस्ता आतंककारी गतिविधिलाई नेशनल भोलेन्टियर्स फोर्सले नियन्त्रण गर्नेछ। त्यसका लागि नै गठन भएको हो।’

उनका अनुसार कोशी अञ्चलबाट सुरु गरिएको यो फोर्सले शान्ति र सुव्यवस्था कायम गर्न प्रहरी तथा सरकारलाई सहयोग गर्नेछ। ‘प्रहरी अब एक्लै छैन। प्रहरीका साथमा नेशनल भोलेन्टियर्स फोर्स छ। यो जनताको संगठित शक्ति हो,’ उनले दाबी गरे।

उनले फोर्स चेन अफ कमान्डअन्तर्गत अत्यन्त अनुशासनमा रहेर सञ्चालन हुने र जनतासँग सुमधुर सम्बन्ध कायम राख्ने बताए।

ओलीले साम्प्रदायिक विद्वेष भड्काउने, उत्तेजना फैलाउने, अन्य पार्टीका झण्डा जलाउने तथा अराजक गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिन फोर्स सक्रिय रहने बताए।

‘यसका तर्कहरू सत्य, न्याय र शान्तिको पक्षमा हुन्छन्। तर ती चिजहरू हरण गर्न खोजियो भने जुनसुकै मूल्य तिरेर फोर्सले बताउनेछ,’ उनले चेतावनी दिए।

आगामी निर्वाचनलाई लक्षित गर्दै उनले प्रत्येक मतदान केन्द्रमा कम्तीमा ३० जना स्वयंसेवक परिचालन गरिने जानकारी पनि दिए। उनका अनुसार फोर्सको उद्देश्य देशमा आतंक र अराजकता फैलिन नदिनु तथा निर्वाचनलाई शान्तिपूर्ण बनाउनु हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *